Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हुम्लाको सिमीकोटमा निर्धन उत्थान बैंकद्वारा ब्यवसायिक तरकारी खेती तालिम सम्पन्न

२०७५ बैशाख २५ गते

निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना २१ जना ग्राहक सदस्यहरुको सहभागितामा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गरेको छ । २०७५ बैशाख १८ गतेदेखि २० गतेसम्म दुर्गम हुम्ला जिल्लाको सिमीकोटमा उक्त तालिम सम्पन्न गरेको बैंकका सिमीकोट शाखाका प्रमुख दिपक भट्टराईले बताए । 

तालिममा हिउँदे तरकारी खेती प्रविधि, (काउली, बन्दा, ब्रोकाउली र गाँठ गोवी), करेसाबारीको परिचय र महत्व, साथै टमाटर, भन्टा, खुर्सानी, भिन्डी खेती प्रविधि), तरकारी खेती नर्सरी बनाउने तरिका (सैद्धान्तिक र ब्यवहारिक), लहरे तरकारी खेती प्रविधि (लौका, काँक्रो, फर्सी, करेला, घिरौंला), जरे तरकारी (मूला, गाजर, सलगम) र कोसे तरकारी (सिमी, बोडी, बकुला, केराउ) खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरु, विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी बढी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, टमाटर खेतीको स्किम, च्याउ खेती स्किम, बचत परिचालन र बचतका फाईदाहरु, बैंकका सेवाहरु लगायतका विषयमा जानकारी दिइएको थियो । निर्धन उत्थान बैंक र सक्षमको संयुक्त पहलमा संचालन गरिएको तालिममा प्रशिक्षकहरु उदयकान्त झा, मुगाधन राइ, भिम बहादुर के.सी, पूर्णलाल सापकोटा रहेका थिए । 

बैंकका सिमीकोट शाखाका प्रमुख भट्टराईले एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको, बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बताए । उनले तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा समेत प्रकाश पारेका थिए ।

यो निर्धन उत्थान बैंक लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । बैंकले १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पुर्याई रहेको छ ।