अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बेलायतको केन्द्रीय बैङ्कलाई विदेशी विनिमय स्वापका लागि तयार हुन सुझाव दिएको छ । जुन २३ मा बेलायतको यूरोपेली सङ्घको सदस्यताको विषयमा हुने जनमत सङ्ग्रहले विश्वको सबैभन्दा ठूलो मुद्रा कारोबार हुने बेलायतलाई प्रभावित पारेमा बैङ्क अफ इङ्ल्याण्ड (बीओई)ले अन्यत्रका केन्द्रीय बैङ्कसँग विदेशी मुद्रा माग्नुपर्ने स्थिति सृजना हुन सक्ने भन्दै कोषले यस्तो सुझाव दिएको हो ।
उक्त जनमतपछि पाउण्ड स्टर्लिङको भाउमा अत्यधिक उतारचढाव हुन नदिन बजारमा हस्तक्षेप गर्नसमेत बीओई तयार हुनुपर्ने र यसका लागि बैङ्क स्वाप सुविधा सुचारु गर्नसमेत तयार हुनुपर्ने आईएमएफको भनाइ छ । लण्डनका बैङ्कहरू जनमत सङ्ग्रहले उत्पन्न गराउने परिस्थितिको सामना कसरी गर्ने भन्नेबारेमा बीओईसँग छलफलरत रहेको अन्तरराष्ट्रिय समाचार संस्थालाई त्यहाँको बैङ्किङ उद्योगका एक वरिष्ठ व्यक्तित्वले बताएका छन् ।
आईएमएफले शुक्रवार बेलायती अर्थतन्त्रबारे एक प्रतिवेदन सार्वजनिक गर्दै बीओईलाई आवश्यक परेको खण्डमा अरू पनि स्टर्लिङ उपलब्ध गराउन सक्ने बताएको थियो । उक्त प्रतिवेदनमा बेलायत ईयूमा बस्ने वा नबस्ने भन्नेबारेमा हुने जनमत सङ्ग्रहले मुद्रा बजारमा तनाव सृजना गराउने चेतावनीसमेत दिइएको थियो । सन् २०१५ को जनवरीमा स्वीट्जरल्याण्डको केन्द्रीय बैङ्कले स्वीस फ्र्याङ्कको डलरसँगको आबद्धता हटाउँदा बेहोर्नु परेको अप्ठ्यारो दृष्टिगत गर्दैै विदेशी मुद्रा सटही गर्ने बैङ्कहरूले आफ्ना ग्राहकलाई मुद्रा बजारमा व्यापक उतारचढाव आउने चेतावनीसहितको पत्र पठाएको बताइएको छ । यद्यपि, विदेशी मुद्रा विनिमय कारोबारको आयतनका आधारमा शीर्ष तीन ठूला बैङ्कहरू सिटी, दायचे र बार्कलेजले भने यसबारेमा तत्कालै कुनै प्रतिक्रिया नदिएको बताइएको छ । एजेन्सी