May 15th, 2016

रिडी हाइड्रोपावरको शेयर निष्काशन हुँदै

ridiरिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनिले ११ लाख ५५ हजार कित्ता हकप्रद शेयर निष्काशनको तयारी थालेको हो । कम्पनीले ९.९ मेगावाटको इवाखोला जलविद्युतमा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो आयोजना जुलाई २०१८ बाट व्यावसायिक रूपमा सञ्चालनमा आउनेछ । तर, हकप्रदबाट करीब ११ करोड उठ्ने देखिएको यो १ अर्ब ६० करोड रुपैयाँको आयोजनाका लागि बाँकी रकम जुट्न बाँकी छ । ६५ प्रतिशत कर्जा र ३५ प्रतिशत शेयर लगानीबाट बन्ने यस आयोजनाको शेयर लगानीमध्ये पनि ४२ करोड रकम जुट्न बाँकी रहने देखिन्छ । यसका लागि संस्थापकले थप रकम हाल्ने, रैराङ आयोजना वा इवाखोलाकै लागि भविष्यमा पुनः आईपीओ जारी गर्नेलगायत विकल्प कम्पनीले सोचेको छ । 

२००३ सालमा पहिलोपटक विद्युत् उत्पादन गरेको यसका समूह कम्पनीहरूको कुल १४ दशमलव ४ मेगावट विद्युत् क्षमता रहेको छ ।  हाल रिडीको सहायक कम्पनी रैराङको माध्यमबाट यस आयोजनामा ८ करोड ५० लाख लगानी भइसकेको छ । यो आयोजनाबाट उत्पादित प्रतियुनिट विद्युतको सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसा र वर्षाका लागि ४ रुपैयाँ ८० पैसा विक्रीदर तोकिएको छ । यो दर ५ वर्षसम्म वार्षिक ३ प्रतिशतको दरले वृद्धि हुने सम्झौता भएको हो । काबेली सब–स्टेशनमा जडान गरेर विद्युत् विक्री गर्ने लक्ष्य राखिएकोमा त्यससम्मको केही भागमा प्रसारण लाइन निर्माण गर्न बाँकी छ । 

कम्पनीले २०१५ जुलाईसम्ममा विद्युत् विक्रीबाट ५७ करोड ४७ लाख रुपैँया उठाएको छ भने ४५ करोड ७२ लाख रुपैँया नाफा आर्जन गरेको छ । कम्पनीले औसत १० प्रतिशत दर लाभांश दिँदै आएको छ । २०१५ जुलाईको तथ्याङ्कअनुसार कम्पनीले बैङ्कहरूको सह–वित्तीयकरणबाट लिएको करीब १२ करोड ४० लाख रुपैँयाँ तिर्न बाँकी रहेको छ । २.४ मेगावाट क्षमताको यो रिडी हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र प्राधिकरणबीच भएको पावर लोड फ्याक्टर कम्तीमा ७५ प्रतिशत हुनुपर्नेमा ४ वर्षयता ६४ प्रतिशत मात्रै रहेको छ ।