Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि माइक्रोफाइनान्सको सीईओमा फनिलाल चौधरी

२०७५ बैशाख ११ गते

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले पदभार ग्रहण गरेका  छन् । चौधरीले वित्तीय संस्थाको केन्द्रीय कार्यालय, पोखरा लेखनाथ महानगरपालिका २५, हेम्जामा आयोजित एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् ।

झन्डै २६ वर्ष लघुवित्त क्षेत्रमा काम गरेको अनुभव भएका चौधरीको बैंकिङ यात्रा नेपाल राष्ट्र बैंकबाट सुरु भएको थियो । त्यसपछि पूर्वाञ्चल ग्रामीण बिकास बैंक लिमिटेड (हालको नेपाल ग्रामीण बिकास बैंक), नेरुडे लघुवित्त बिकास बैंक हुँदै उनी मेरो माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत भएका हुन् । साथमा प्लान नेपाल, यूएनडीपी, केयर नेपाल लगायतका विभिन्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुमा कार्य गरेका चौधरी पछिल्लो समयमा उन्नति वित्तीय पहुँच परियोजनामा कार्यरत थिए । उनले वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारी, सरोकारवालाहरुका साथै वित्तीय संस्थाका सदस्यहरुलाई विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको र राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय क्षेत्रमा तालिम, गोष्ठी तथा सेमिनारहरुमा पनि भाग लिई अनुभव प्राप्त गरेका छन् ।

कार्यक्रममा नवनियुक्त चौधरीले लघुवित्तको क्षेत्रमा चुनौतीको साथसाथै अवसर पनि रहेको बताउँदै नेपाल सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई दुर्गम क्षेत्रमा शाखा खोली सेवा दिनको लागि असार मसान्तसम्म सबै गाउँपालिकाहरुमा अनिवार्य जानुपर्ने नीतिगत निर्णय गरेको कारण सो क्षेत्रमा लघुवित्तलाई पनि शाखा खोली कार्यक्रम विस्तार गर्न सहयोग पुगेको बताए । 

निवर्तमान प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले २०७४ चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार वित्तीय संस्थाले देशका ५३ वटा जिल्लाहरुमा ७५ वटा शाखा कार्यालयहरु स्थापना गरी करीब ७५ हजार सदस्यमार्फत दुई अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरी ६१ करोड ५५ लाख रुपैयाँ बचत संकलन गरेको र निकट भविष्यमै वित्तीय संस्थाले १० वटा शाखा कार्यालय खोली कारोबार शुरु गर्ने जानकारी दिए ।

वित्तीय संस्थाको संचालक समितिले चौधरीलाई प्रमुख कार्यकारी अधिकृतमा आगामी चार वर्षका लागि चयन गरेको हो ।