नेपालमा पहिलो पटक आयोजना गरिएको ‘लघुवित्त ग्राहक सम्मेलन’ सुरु भएको छ । राजधानीको एक होटलमा आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घघाटन गरे । २ दिनसम्म चल्ने सो सम्मेलनमा एक हजारभन्दा बढी ग्राहक सदस्य सहभागी छन् । सम्मेलनमा लघुवित्तमा कारोबार गर्ने सदस्यहरूको अनुभव आदान–प्रदान गरिनुका साथै लघुवित्तका चुनौती, अवसर, समस्या र राम्रा पक्षका बारेमा छलफल हुनेछ । लघुवित्त ग्राहक घोषणापत्र जारी गरि सम्मेलन सोमबार सकिनेछ ।
सम्मेलनबाट लघुवित्त सदस्यको अनुभव आदान–प्रदान, उनीहरूको उत्प्रेरणाका साथै लघुवित्तमा रहेका विकृति र विसंगति अन्त्य गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । साथै, लघुवित्तलाई व्यवस्थित बनाउन र राष्ट्रिय लघुवित्त नीति बनाउन समेत सहयोग मिल्ने आयोजक पक्षको विश्वास छ । सम्मेलनमा गाउँ–गाउँमा लघुवित्त ऋण लिएर सफल भएका महिलाहरूको उपस्थिति रहने र यसबाट लघुवित्त संस्थाप्रति हेर्ने दृष्टिकोणसमेत परिवर्तन हुने विश्वास लिइएको छ ।
हाल नेपालमा ४१ लघुवित्त विकास बैंक, २५ गैर सरकारी संस्था र १ सयभन्दा बढी सहकारी संस्थाले लघुवित्त सेवा दिइरहेका छन् । लघुवित्त संस्थामार्फत १८ लाख परिवारमा ३ खर्ब ऋण प्रवाह भएको छ । लघुवित्तमा असुलीदर पनि ९९ प्रतिशत छ । नेपालमा विभिन्न लघुवित्त सस्ंथामा आवद्ध झन्डै १६ लाख ३० हजार ग्राहक सदस्य छन् । नेपालमा गरिबी न्यूनीकरण गर्ने र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले खोलिएका लघुवित्त संस्थाले हालसम्म ११ लाख ४० हजार ऋणीलाई ५९ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरी १७ अर्ब ९७ करोड रुपैयाँ बचत संकलन गरेका छन् ।




