गत बर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ध्वस्त भएको ऐतिहासिक धरहराको पुननिर्माणका लागि नेपाल एस बि आई बैंकले ५ करोड २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत फागुन ४ गतेबाट सरकारले सुरु गरेको ‘मेरो धरहरा : म बनाउँछु’ अभियानका लागि सो बैंकले ५ करोड २१ रुपैयाँ प्रदान गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । धरहरा पुनर्निमाणका लागि ५ करोड २१ लाख रकमको चेक बैंकका कार्यकारी अधिकृत अनुकुल भट्नागरसहितका बैंकका अधिकारीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् । धरहरा पुनर्निर्माणका लागि सहयोगस्वरुप प्रदान गरिएको चेक ग्रहण गर्दै प्रधानमन्त्री ओलीले एसबिआई बैंकलाई ऐतिहासिक धरोहर पुनर्निर्माणमा सहयोग गरेकोप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
यसअघि बैंकले भूकम्प पीडितहरुको उद्धार तथा पुर्नस्थापनाका लागि सहयोगस्वरुप ८ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो । गत वर्षको फागुनदेखि नै सरकारले धरहरा पुननिर्माण अभियान थालेको भएपनि अपेक्षाअनुरुप सहयोग रकम जुट्न सकेको थिएन । योसँगै अहिलेसम्म धरहरा पुनर्निर्माणका लागि सबैभन्दा बढी सहयोग गर्ने दाता पनि एसबिआई बैंक नै बनेको छ ।