Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान बैंकद्धारा ब्यवसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

२०७४ चैत्र २९ गते

काठमाडौं नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्रका विपन्न गरीब महिलाहरुको सहभागितामा २०७४ चैत्र २५ गतेदेखि २७ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको दाप्चा छत्रेबाझमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा छत्रेबाझ क्षेत्रका २५ जना गरीब विपन्न महिलाहरु सहभागी भएका थिए । निर्धन उत्थान बैंकको मातृ संस्था निर्धनले आफनो गरीब विपन्न महिलाहरुको सहभागितामा ब्यवसायिक उन्नत बाख्रापालन तालिम संचालन गरेको निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पन्तले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु विदुर गिरी, राज कुमार श्रेष्ठ, दिल बहादुर पुन रहेका थिए । 

तालिममा बाख्रापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाखा्रपालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातिय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यस्तै, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आर्द्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, उमेर अनुसार बाख्रालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु (भूँई घाँस, डाले घाँस), चरन क्षेत्र लगायतका बारेमा पनि तालिममा जानकारी दिइएको थियो । साथै सन्तुलित दाना बनाउने विधि र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, प्रजननको लागि बाख्रा तथा बोकाको छनौट गर्ने तरिका, प्रजनन गराउने उमेर, स्वजातिय तथा प्रजातिय प्रजननबाट हुने फाईदा बेफाईदा बारे जानकारी, थारा, ब्याउने बाख्रा, पाठा र पाठी र ब्याएको माउको हेरचाह, खोर, दानापानी दिने भाँडाहरुको सरसफाईको साथै खसी पार्ने उमेर र तरिकाहरु बारे आवश्यक जानकारी पनि तालिममा प्रदान गरिएको थियो । 

यसका अलावा रोग तथा निरोगी बाख्राको पहिचान, रोग लाग्नाका कारण तथा पिपिआर रोग, टिम्पेनी, छेरौटी रोग, बाखाको छ मासे रोग, खोरेत रोग, रेविज रोगको लक्षण, उपचार तथा रोकथामका उपायबारे जानकारी, बाख्रामा हुने आन्तरीक र वाह्य परिजिविहरुको नियन्त्रणको साथै खोप कार्यक्रमबारे पनि जानकारी दिइएको थियो । स्थानीय बाख्रापालनको महत्व, कमी, कमजोरी, संरक्षण तथा विकास बाख्रापालन ब्यवसायको बजार ब्यवस्थापन आदि बारेमा समेत यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष कोनाजोले बताए ।

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पन्तले यस निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपालमा सर्वप्रथम लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते विधिवत रुपमा सम्पूर्ण लघुवित्त कारोवार निर्धन उत्थान बैंक लिमिटेडलाई हस्तान्तरण गरेपश्चात मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय महिलाहरुको आर्थिक, सामाजिक तथा मानसिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, ब्यवसाय विकास तालिम, वित्तीय साक्षरता तालिम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आई रहेको जानकारी गराएका थिए । तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट श्वेता लामा, सुष्मा गुरुङ्ग लामा,सुशिला खनालले तालिमको मूल्यांकन गरेका थिए । 
यस ब्यवसायिक उन्नत बाख्रापालन तालिम फाईदाजनक तालिम रहेको तालिमका सहभागीहरुले बताए । समापन सत्रमा प्रशिक्षक विदुर गिरी, प्रशिक्षक राज कुमार श्रेष्ठ, निर्धन उत्थान बैंक लिमिटेडका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठले मन्तब्य दिएका थिए । 

निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै समापन मन्तब्य दिएका थिए । यस तालिममा तालिमको संचालन निर्धन उत्थान बैंक लिमिटेड शाखा कार्यालय छत्रेबाझका शाखा प्रमुख शरद चन्द्र घिमिरेले गरेका थिए । 

निर्धन संस्थाले साढे दुई दशक अघि लघुवित्त सेवा सुरुवात गरेको कार्यक्रमलाई निर्धन उत्थान बैंकले निरन्तरता दिँदै आईरहेको छ ।