खासगरी कर्मचारी हकहित र संस्थागत सुशासन कायम गर्नुका साथै वित्तीय सुशासन कायम गर्ने उद्देश्यले विभिन्न बैंकहरुमा कर्मचारी युनियनहरु गठन गरिएका छन् । ट्रेड युनियन ऐनले पनि सार्वजनिक संस्थामा कर्मचारीहरुलाई संगठित हुने अधिकार दिएको छ । वर्तमान समयमा यस्ता युनियनहरुले राजनीतिक आडमा केही बैँकहरुमाथि आफ्नो अस्तित्व जमाएका छन् । विभिन्न बैँक तथा वित्तीय संस्थाहरुमा संगठित कर्मचारी युनियनहरुका कारण समयसमयमा समस्या सिर्जना गर्ने गरेको छ । कर्मचारी युनियनले सेवा सुविधा बृद्धिका माग मात्रै नराखेर बेला–बेला बैंकभित्रको अपारदर्शिता, कुशासन र जवाफहीनता बढेको भन्दै प्रश्न उठाउँछन् । एकहदले विद्रोह गरिदिन्छन्, जसका कारण बैंक सञ्चालन र व्यवस्थापनमा समस्या देखा पर्छ । नेपालका २९ वटा वाणिज्य बैँकहरुमध्ये १८ वटा बैंकहरुमा टे«ड युनियनहरु क्रियाशील छन् । यीमध्य केही बैँकहरुलाई कर्मचारी युनियनले नराम्ररी गाँजेको छ । राजनीतिक आडमा कर्मचारी नियुक्तिमा दबाब दिने र बैंकको कामभन्दा राजनीतिक गतिविधिमै बढी केन्द्रित हुने जस्ता क्रियाकलापले बैँकको कामकारबाहीमा नै बाधा उत्पन्न गराउने गरेको छ । यसैबिच, बैँकिङ खबर डट कमले कर्मचारी युनियनकै कारण समस्यामा जेलिएका ५ वाणिज्य बैँकहरुको बारेमा एक रिपोर्ट तयार पारेको छ । प्रस्तुत छ, सहकर्मी शिवहरी घिमिरेले तयार पारेको सामग्री ः
कृषि विकास बैंक
कर्मचारी आन्दोलनको सबैभन्दा बढी चपेटामा पर्ने बैंकमध्ये एउटा बैंक हो कृषि विकास बैंक । यो बैंकको आन्दोलन श्रृंखला २०४६ सालबाट सुरु भएको इतिहास छ । तत्कालीन समयमा गिरिजा प्रसाद कोइरालाको पक्षबाट वित्तीय कर्मचारी संघले प्रजातन्त्रको माग गर्दै बैंकमा धर्ना दिएको थियो । त्यसपछि शाही शासन कालमा पनि कर्मचारीको पेशागत हकको लागि भन्दै बैंकका कर्मचारीहरुले आन्दोलन गरेका थिए । २०६५ साल साउन ३१ गते कर्मचारी सरुवा बढुवाको माग राख्दै कर्मचारी युनियनले चर्को आन्दोलन गरे । त्यस्तै ०६६ सालमा तत्कालीन सिईओ तेजवहादुर सिंहलाई हटाउने विषयमा आन्दोलन भएको थियो भने ०६७ सालमा पनि एकपक्षिय रुपमा कर्मचारी सरुवा बढुवा गरेको भन्दै बैंकमा ३१ दिने आन्दोलन चर्किएको थियो । उक्त समयमा ६ दिन बैंकिङ कारोबार नै पनि ठप्प भएको थियो । व्यवस्थापन समितिले अनियमित ढंगले कर्मचारी सरुवा बढुवा गरेको भन्दै तत्कालीन सिईओ श्यामसिंह पाण्डेले पदबाट हात समेत धुनुपरेको थियो । हाल बैंकमा ४ वटा युनियन क्रियाशील छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादी निकट युनियनहरु छन् । आवश्यकताभन्दा बढी युनियन गठन भएपछि बैंकमा बैंक तथा कर्मचारीको हितको लागि भन्दा पनि राजनीतिक स्वार्थ पूरा गर्नको लागि बैंकका युनियनहरु सक्रिय देखिन्छन् । युनियनहरुले सबै कर्मचारीको पक्षबाट आवाज उठाएतापनि बैंकभित्र पार्टीगत विभेद भने हावी हुँदै गएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक पनि बेलाबेला कर्मचारी आन्दोलनको चपेटामा पर्ने गरेको छ । २०४८ सालमा राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारी युनियन गठन भएको थियो । कर्मचारी युनियन गठन भएको ३ वर्षमा नै २०५१ सालमा वाणिज्य बैंकमा राजनीति हावी भएको भन्दै एमाले निकट युनियनले ४२ दिन धर्ना दिएको थियो । त्यसयता सानातिना आन्दोलन भईरहे पनि ०६६÷६७ सालमा आइपुग्दा एउटा ठूलै आन्दोलन गरे कर्मचारहिरुले । कर्मचारीको बोनस रोकेको भन्दै युनियनले बैंकमा धर्ना दिनुका साथै अर्थमन्त्रालय, अख्तियार, राष्ट्र बैंक र सरकारको विरुद्धमा सर्बोच्च अदालतमा युनियनले मुद्धा हालेको थियो । उक्त मुद्धा डेढ बर्षअघि युनियनको पक्षमा टुङ्गीएको छ । हालै वाणिज्य बैंकमा नयाँ सिईओ नियुक्तिमा ढिला भएको भन्दै कर्मचारी युनियनका पदाधिकारीहरुले बैंकमा धर्ना दिनुका साथै कालो पट्टी बाधेर आन्दोन गरेका थिए ।
नेपाल बैंक लि.
सरकारी स्वामित्वमै रहेको नेपाल बैकमा कार्यरत संगठीत कर्मचारीहरुले बेलाबेला बैंकलाई नै अप्ठरो पर्ने गरि आन्दोलन चर्काउँछन् । तर यस बैंकमा कर्मचारीले गरेको आन्दोलनबारे त्यति धेरै कुरा बाहिर आउँदैन । बैंकको सञ्चालक समितिको चातुर्यताका कारण पनि त्यति धेरै कुरा बाहिर आउन पाउँदैन । उनीहरु आन्दोलनमा उत्रिएका कर्मचारीहरुसंग बिलम्ब नगरी वार्ता गर्ने र आश्वासन दिएरै भएपनि आन्दोलनरत कर्मचारीलाई मनाउँछन् । यस बैंकका कर्मचारी पनि गत साउनमा आवश्यक सेवा सुविधा कम भएको भन्दै आन्दोलित भएका थिए । २०७० सालमा विभिन्न पाँच बुँदे माग राखेका कर्मचारीहरुको मागको बैंक व्यवस्थापन पक्षले सुनुवाई नगरेको भन्दै आन्दोलित भएका थिए । यस बैंकमा नेपाल बैक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संघ, नेपाल बैंक राष्ट्रिय कर्मचारी संस्थालगायतका टे«ड युनियन क्रियाशील छन् ।
माछापुछ्रे बैंक
गत वर्ष साउनमा माछापुच्छ्रे बैंकमा कर्मचारी युनियन गठनको विषयले खैलाबैला मच्चियो । कर्मचारीहरुको आन्दोलन कै कारण केही समय बैंकको कारोबार समेत ठप्प भयो । कानुनी प्रक्रिया अनुसार यूनियन गठन गर्न खोज्दा बैंक व्यवस्थापनले ४६ जनालाई सरुवा गरी कर्मचारीको ट्रेड युनियन गठन गर्न पाउने नैसर्गिक अधिकारलाई बैंकले दबाउन खोजेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधि बैंकको काम छाडेर आन्दोलनमा उत्रिए । अन्ततः बैंक व्यवस्थापन कर्मचारी युनियन गठन गर्न सहमत भएपछि बैंकिङ कारोबार संचालनमा आयो । माछापुच्छ्रे बैंकका ट्रेड युनियनका अध्यक्ष वंशिधर घिमिरेले युनियन गठन भएपछि बैंकको कुनै पनि काम कारवाहिमा असर नभएको बताए । उनी कर्मचारी युनियन गठन भएपछि सबै कर्मचारीहरुको समस्या हल भएको बताउँछन् । यद्यपी अहिले कर्मचारी तहबाटै बैंकका सेवा, सुविधा र अवसरहरुमा बैंकमा राजनीतिक पुर्वाग्रह हावी हुन थालेको बैंक स्रोतको दाबी छ ।
नविल बैंक
कमर्सियल बैंकहरुमध्ये सबैभन्दा पहिले युनियन गठन गर्ने बैंक हो नविल बैंक । नविल बैंकमा २०५१ सालमा युनियन गठन भएको थियो । बैंकमा कार्यरत कर्मचारीहरुले युनियनको माग गर्दै आन्दोलन चर्काएपछि बैंकमा युनियन गठन भएको थियो । नविल बैंकमा २०७२ साल असारमा कर्मचारी युनियनले बैंक व्यवस्थापन समितिसँग सामूहिक सौदाबाजीको सहमति गरेको थियो । बैंकले स्थापना कालदेखि बैंकको नियम परिवर्तन र कर्मचारीको मागहरुलाई सम्बोधन गर्नको लागि पटक–पटक बैंकमा कालोपट्टी बानेर धर्ना दिने गरेका छन् ।




