May 14th, 2016

हेटौडाबाट यसरी भइरहेछ सुनको तस्करी

gold 1पछिल्लो समय हेटौँडा सुन तस्करीको मार्ग बन्न थालेको छ । मकवानपुर प्रहरीले राजमार्गमा सवारी जाँचमा कडाई गरसँगै सुन तस्करहरु पक्राउ पर्न थालेपछि यस्तो रहस्य खुलेको हो । एकसाताको अवधिमा प्रहरीले ठूलो परिणाममा सुनसँगै तीनजनालाई नियन्त्रणमा लिएको छ । सुन तस्करहरुले गन्तब्यसम्म पुग्न र सुन ओसारपसारका लागि हेटौँडालाई सुरक्षित मार्गको रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एवं प्रबक्ता बामदेव गौतम राजमार्गमा चेकजाँचमा कडाई गरेपछि अबैध सुनको धन्दा गर्नेहरु पक्राउ पर्नेक्रम बढेको बताउनुभयो । तस्कारहरुले अबैध सुन तस्करीका लागि हेटौँडालाई ट्रान्जिट प्वाइण्ट बनाए नबनाएको यकिन नभएको बताउँदै उहाँले भन्नुभयो, सुनसँगै आवश्यक कागजात नभएपछि नियन्त्रणमा लिएका हौ, विगतमा के हुन्थ्यो थाहा भएन ।

प्रहरीले गत बुधबार एक केजी पाँचसय ग्राम सुनसहित अर्जुन सिंहलाई नियन्त्रण लिएको थियो । रौतहट जिल्लाको गौर नगरपालिका–१३ का अर्जुन सिंहलाई प्रहरीले पथलैयातर्फ जाँदै गरेको ना३ख ४७४६ नम्बरको बस चेकजाँच गर्नेक्रममा अवैध सुनसहित नियन्त्रणमा लिएको हो । सिंहले काठमाडौँबाट लुकाईछिपाई ल्याएको सुन राजमार्गका थुप्रै चेकपोष्टहरु पार गर्दै हेटौँडा उपमहानगरपालिका–१७ स्थित रातोमाटे चेकपोष्टले बरामद गरेको थियो । 
भारतमा सुन सस्तो हुँदा नेपालतर्फ र भारतमा नेपालमा भन्दा महंगो हुँदा नेपालबाट तस्करी हुँदै आएको छ । छोटो मार्ग भएकोले तस्करीको लागि आवतजावत गर्न सुन तस्करहरुको रोजाईमा हेटौँडा पर्ने गरेका छ । यसैगरी प्रहरीले ना४ख ८६९८ नम्बरको यात्रुबाहक बसमा नारायणगढबाट पथलैया जाँदै गरेका ज्ञानेन्द्रकुमार उपाध्यलाई अबैध सुनसहित प्रक्राउ गरेको छ । बीरगञ्ज उपमहानगरपालिका–२० का उपाध्यको साथबाट प्रहरीले एक केजी ४९ ग्राम सुन बरामद गरेको थियो । आइतबार नै प्रहरीले भरतपुर उपमहानगरपालिका–११ का मदन बिकलाई सुनचाँदीसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनुभयो । उनको साथबाट प्रहरीले ५१ ग्राम सुन र ३८४ ग्राम चाँदी बरामद गरेको छ । 
सुनको अबैध कारोवार मौलाएको बताउँदै हेटौँडाका एक सुन व्यवसायीले सरकारलाई समयमा राजस्व चुक्ता गरेर कारोबार गर्ने व्यवसायी यसको मारमा परेको गुनासो गर्नुभयो । काठमाडौँबाट तराईका जिल्ला र भारततर्फ तथा भारतबाट काठमाडौँ, चितवन, पोखरालगायतका स्थानमा अवैध सुन चोरी निकासी गर्न हेटौँडाको मार्गलाई सुरक्षित गन्तब्य बनाउँदै आएका छन् । उता मकवानपुरका प्रहरी नायव उपरीक्षक गौतम लागूऔषधलगायतका तस्करी नियन्त्रण गर्न राजमार्गमा चेकजाँचमा कडाई गरिएको दावी गर्नु हुन्छ ।