Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

वाणिज्य बैंकहरुमा खराब कर्जा बढ्दै

२०७४ चैत्र २१ गते

बैंकिङ खबर । वाणिज्य बैंकहरुमा खराब कर्जा बढ्न थालेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासलाइई हेर्दा १६ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको देखिन्छ । गत आवको तुलनामा सबभन्दा धेरै खराब कर्जा बढ्ने बैंकमा कृषि विकास बैंक छ । सरकारी स्वामित्वको कृषि विकास बैंकको पछिल्लो ६ महिनामा ०.९८ प्रतिशत खराब कर्जा वढेको छ । नेपाल एसबीआई बैंकको सबैभन्दा थारै ०.०३ प्रतिशत खराब कर्जा वढेको छ । सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा पनि बढेको छ । त्यस्तै, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, जनता बैंक र सिभिल बैंकको खराब कर्जा पनि बढेको छ । सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, माछापुछ्रे बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनएमबी बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक र प्रभु बैंकको खराब कर्जा भने घटेको छ । 

कुन बैंकमा कति छ खराबकर्जा ?
पुस मसान्तसम्मको तथ्यांक अनुसार २८ वटा वाणिज्य बैंकमध्ये, सबैभन्दा कम खराब कर्जा सानिमा बैंकको रहेको छ । पुस मसान्तको तथ्यांकअनुसार, बैंकको खराब कर्जा शून्य दशमलव ०३ प्रतिशत मात्रै रहेको छ । नेपाल एसबिआई बैंकको निष्कृय कर्जा शून्य दशमलव १३ प्रतिशत रहेको छ । स्टान्डर्ड चार्टर्ड बैंकको निष्कृय कर्जा शुन्य दशमलव १७ प्रतिशत रहेको छ । त्यस्तै, एभरेष्ट बैंकको खराब कर्जा शून्य दशमलव २५ प्रतिशत रहेको छ ।यता, एनआईसी एशिया बैंकको  खराब कर्जा शून्य दशमलव २६ प्रतिशत रहेको छ । माछापूच्छ्रे बैंकको निष्कृय कर्जा शून्य दशमलव ३३ प्रतिशत रहेको छ । त्यसैगरी , मेगा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९६ प्रतिशत रहेको छ ।सेञ्चुरी कमर्सियल बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९९ प्रतिशत छ ।

अधिकांश बैंकको खराबकर्जा एक प्रतिशत र दुई प्रतिशतको बीचमा रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको खराबकर्जा एक दशमलव १२ प्रतिशत रहेको छ । पुस मसान्तसम्मको तथ्यांक हेर्दा नविल बैंकको खराबकर्जा एक दशमलव १३ प्रतिशत रहेको छ । एनएमबि बैंकले आफ्नो निष्कृय कर्जा एक दशमलव २० प्रतिशतमा झारेको छ । लक्ष्मी बैंकको निष्कृय कर्जा एक दशमलव २९ प्रतिशत कायम भएको छ । हिमालयन बैंकको निष्कृय कर्जा एक दशमलव ३२ प्रतिशत रहेको छ । प्राइम कमर्सियल बैंकको खराब कर्जा एक दशमलव ४३ प्रतिशत रहेको छ । नेपाल बंगलादेश बैंकको निष्कृय कर्जा एक दशमलव ४७ प्रतिशत रहेको छ । सिद्धार्थ बैंकको निष्कृय कर्जा एक दशमलव ५० प्रतिशत रहेको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको निष्कृय कर्जा एक दशमलव ६१ प्रतिशत रहेको छ । कुमारी बैंकको बैंकको निष्कृय कर्जा पनि एक दशमलव ६१ प्रतिशत रहेको छ । सनराइज बैंकको खराबकर्जा एक दशमलव ६५ प्रतिशत रहेको छ । बैंक अफ काठमाण्डूको निष्कृय कर्जा एक दशमलव ८६ प्रतिशत रहेको छ । सिटिजन्स बैंकको निष्कृय कर्जा एक दशमलव ९४ प्रतिशत  रहेको छ । 

पुस मसान्तमा जनता बैंकको निष्कृय कर्जा दुई दशमलव ६५ प्रतिशत  रहेको छ । सरकारी स्वामित्वका तीन वटै बैंकको खराब कर्जा तीन प्रतिशतभन्दा माथि रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको निष्कृय कर्जा तीन दशमलव ११ प्रतिशत रहेको छ । सरकारी स्वामित्वकै नेपाल बैंकको  खराब  कर्जा तीन दशमलव २३ प्रतिशत रहेको छ । त्यस्तै, कृषि विकास बैंकको खराब कर्जा तीन दशमलव ९५ प्रतिशत रहेको छ ।

सिभिल बैंकको निष्कृय कर्जा ४.५२ प्रतिशत रहेको छ । प्रभु बैंकको निष्कृय कर्जा चार दशमलव १२ प्रतिशत कायम भएको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको निष्कृय कर्जा चार दशमलव ०४ प्रतिशत रहेको छ । 

खराब कर्जा बढ्नुको कारण
पुँजीवृद्धिको होडमा रहेका बैंकहरुले सोही अनुपातमा मुनाफा आर्जन गर्न खोज्दा खराब कर्जा बढेको देखिन्छ । बैंकहरूले आक्रामक रूपमा कर्जा प्रवाह गर्दा पुँजी, कर्जा तथा निक्षेप (सीसीडी) रेसियो ८० को हाराहारीमा पुगेको अवस्था छ । यस समस्याको समाधानका लागि कर्जा प्रवाहलाई नै नियन्त्रण गर्नु परिरहेको छ । बैंकहरुको यस आम्दानीमुखी प्रवृत्तिको प्रभावस्वरुप बैंकहरुमा खराब कर्जाको मात्रा बढेको पाइएको छ । बैंकहरुले खराब कर्जा बढ्नुको कारण निक्षेपको व्याजदरवृद्धिलाई मानेका छन् । 

खराब कर्जा के हो ? कसरी सिर्जना हुन्छ ?
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपिएल (नन पर्फमिङ लोन – non performing loan) अर्थात खराब कर्जा भनिन्छ । निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अवस्था आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।

सम्भावित जोखिम वापतको व्यवस्था                  
बैंकहरूले कर्जा प्रवाह गर्नेवित्तिकै कर्जाको १ प्रतिशत जोखिम व्यवस्थावापत छुट्याउँछन् । त्यसपछि बैंकहरूले प्रवाह गरेको कर्जा ३ महिनाभित्र ऋणीले ब्याज तथा साँवा तिर्न सकेनन् भने बैंक तथा वित्तीय संस्थाले सो कर्जाको २५ प्रतिशत रकम सम्भावित जोखिमबापत छुट्याउनुपर्छ । त्यस्तै, ६ महिनासम्ममा असुल नभए ५० प्रतिशत, ९ महिनासम्मा असुल नभए ७५ प्रतिशत र १ वर्षसम्म पनि असुल नभए शतप्रतिशत रकम कर्जा जोखिम व्यवस्थावापत छुट्याउँछन् । यसरी प्रोभिजनिङ गरेपछि पनि बैंकको कर्जा नउठ्ने भएपछि बैंकको नाफामा असर हुन्छ ।