Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभरका टप बैंकिङ खबरहरु (१० बुँदामा)

२०७४ फाल्गुन २६ गते

बैंकिङ खबर । यो साता सरकारले चालू बजेटको मध्यावधि समीक्षा गरी आर्थिक वृद्धिदरको लक्ष्य घटायो । एनआईसी एशिया बैंकका सीईओले राजीनामा दिएको विषय पनि चर्चामा रह्यो भने एनआईसी एशिया बैंकले १२ प्रतिशत व्याजदरको मुद्धति खाता ल्याएको विषयमा पनि सबैको ध्यान खिचियो । समग्रमा, यो साता बैंकिङ क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

बजेट समीक्षा
सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्यो । बुधबार जारी समीक्षामा आर्थिक वृद्धिको संशोधन गरिएको छ । बजेटमा आर्थिक वृद्धिदरको लक्ष्य ७.२ प्रतिशत रहने अनुमान गरिएकोमा समीक्षामा अर्थमन्त्रालयले आर्थिक वृद्धिदरको लक्ष्य ६.५ प्रतिशतमा रहने उल्लेख गरेको छ । त्यस्तै, महँगी पाँच प्रतिशतभन्दा माथि जान नदिने पनि मध्यावधि समीक्षामार्फत बताइएको छ ।

एनआईसी एशिया बैंकको धनवर्षा मुद्धती खाताको री–लञ्च
“बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गर्यो । एक बर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा व्याज भुक्तानी गरिने छ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९०% सम्म कर्जा समेत उपलब्ध गराउन सकिने छ ।

एनआइसी एसिया बैंकका सीईओको राजीनामा
कार्यकाल नसकिँदै एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजीनामा दिए । २०७३ जेठ ३ गते बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रिसालले दुई वर्ष पुरा नहुँदै राजीनामा दिएका हुन् ।

एनआईसी एशिया बैंकसँग २७ वाणिज्य बैंकले कारोबार नगर्ने
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले एनआइसी एसिया बैंकसँग कुनै पनि किसिमको कारोबार नगर्ने निर्णय गर्यो । व्याजदर नबढाउन गरेको प्रतिवद्धता तोडेको भन्दै शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एशिया बैंकसँग तत्कालका लागि कुनै पनि कारोबार नगर्ने निर्णय गरेको हो । २८ वटै वाणिज्य बैंकहरुले बचत खाताको व्याजदर ८ प्रतिशत र मुद्धति खाताको व्याजदर ११ प्रतिशतभन्दा बढी नपुर्याउने प्रतिवद्धता गरेका थिए । उक्त सहमतिपछि बैंकले बचत खाताको व्याजदर १० बाट आठमा झारेको थियो । तर बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएर एनआईसी एशिया बैंकसँग अन्तरबैंक कारोबारर विदेशी मुद्राको कारोबार नगर्ने निर्णय गरेको हो । 

एनएमबि बैंकद्धारा नयाँ प्रयोग
एनएमबी बैंकले सिङ्गापुरको अनलाईन प्रबिधिमा आधारित बीमा सेवा NMB-(i)nsurance को सुरुवात गर्यो । नेपालको बैंकिङ क्षेत्रमै पहिलो पल्ट गरिएको यो सेवाको सुरुवातसँगै अब एनएमबी बैंकमा खाता भएका वा नभएका जोसुकै ग्राहकले इन्स्योरेन्स सेवा लिन चाहेमा बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एप्लीकेशनबाट आफ्नो आवश्यकता अनुसार बिभिन्न कम्पनीहरुको बीमा योजना तथा त्यसका फाईदाहरु तुलना गरेर आफुले रुचाएको योजना खरिद गर्न सक्नेछन् ।

संसारकै धनी रहेनन् बिल गेट्स
अमेरिकाको सर्वा्धिक चर्चित म्यागाजिन फोर्ब्सले सन् २०१८ को अर्वपतिको सूचि सार्वजनिक गर्यो । सूचिको पहिलो स्थान जेफ बेजोसले ओगटेका छन् । अमेरिकन अनलाइन सपिङ साइट अमेजनका संस्थापक जेफ बेजोसले सम्पत्ति कमाउने कामलामा रेकर्ड नै कायम गरेका छन् । फोर्ब्सका अनुसार, उनको सम्पत्ति एक वर्षमा ३९ अर्ब  अमेरिकी डलरले बढेर ११२ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । १८ वर्षदेखि लगातार विश्वकै सबैभन्दा धनी व्यक्तिको स्थान ओगटिरहेका बिल गेट्स यसपाली भने एक स्थान पछि परेका छन् । माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स ९० अर्ब बराबरको सम्पत्तिका साथमा दोस्रो स्थानमा परेका छन् । सेयर बजारका बादशाह वारेन बफेट ८४ अर्ब अमेरिकी डलर सम्पत्तीसहित तेस्रो स्थानमा रहेका छन् । सूचीको चौथो स्थानमा परेका र युरोपकै धनी बर्नाड आर्नउल्टको सम्पत्ति ७२ अर्ब डलर रहेको छ । त्यस्तै, सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ अर्ब अमेरिकी डलर सम्पत्तीका साथ पाचौं स्थानमा रहेका छन् ।

माछापूच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा
माछापुच्छ्रे बैंकले आफ्नो रजिष्टर्ड कार्यालय पोखराबाट काठमाण्डौंमा स्थानान्तरण गर्यो । बैंकले पोखराको लेखनाथ नगरपालिमाबाट केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा सारेको हो । लाजिम्पाट स्थित एम.बी.एल. टावरमा सोमबारदेखि केन्द्रीय कार्यालय सञ्चालमा ल्याएको बैंकले जानकारी दिएको छ ।

शाखा विस्तार तथा स्थानान्तरण
एनआईसी एशिया बैंकको मनहरि गा.पा. वडा नं. ०७, मनहरि, मकवानपुरस्थित मनहरि शाखाको बुधबार (फाल्गुण २३ गते) औपचारिक  रुपमा उद्घाटन गरियो ।
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चावहिल शाखाको औपचारिक उद्घाटन गर्यो ।
मुक्तिनाथ विकास बैंक लि.को ललितपुर महानगरपालिका वडा नं. ५ स्थित लगनखेल कर्मचारी संचय कोषको भवनमा नयाँ शाखा संचालनमा ल्यायो ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले रुपन्देही जिल्ला सिदार्थनगर नगरपालिका वडा न. ५ अवस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लि.को भैरहवा शाखा कार्यालयलाई सोही नगरपालिकाको नारायणपथस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गर्यो ।
ग्लोबल आइएमई बैंकले सिराहा जिल्लाको अर्नमा गाँउपालिका वडा नं. १, महानौरमा आफ्नो ७५ औँ,  धनुषा जिल्लाको पिपरा गाँउपालिका वडा नं. ६, रतौली बजारमा ७६औँ र सोही जिल्लाकै नगर्राइन गाँउपालिका वडा नं. ३, फुलगामामा ७७औँ शाखारहित बैकिङ्ग सेवा सुरु गर्यो ।
प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिकामा १ र कास्की जिल्लाको माछापूच्छ्रे गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय सञ्चालनमा ल्यायो ।
एनआईसी एशिया बैंकले मकवानपुरको भिमफेदी गा.पा. वडा नं. ०६, भिमफेदी बजारमा नयाँ शाखा संचालनमा ल्यायो ।

तालिम संचालन
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँचीले आफ्ना सक्रिय अभिकर्ताहरुका लागि अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न गर्यो ।
नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तीय साक्षरता कार्यक्रम थालियो ।
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले दुर्गम क्षेत्रका समुदायमा बैंकिङ्ग शिक्षा प्रदान गर्ने उद्धेश्यले रुकुमको खोलागाऊँ र झुल्नेटा उपशाखा कार्यालय अन्तरगत वित्तीय पहुँचबाट बञ्चित समुदायका १४० जना सहभागीहरुलाई समेटेर २ दिने वित्तीय साक्षारता सम्बन्धी तालिम प्रदान गर्यो ।
निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ फाल्गुण २२ देखि २४ गतेसम्म दाङ जिल्लाको सिसहनियाँमा “ग्राहक सदस्यहरुको लागि उन्नत बाख्रापालन तालिम” संचालन गर्यो ।

अन्य,
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भयो ।
कृषि विकास बैंक लि.को केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि. को छैटौँ परिषदको समुदघाटन गरियो । 
जनता बैक नेपाल लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडबिच बैंकास्योरेन्स सेवा  सम्बन्धी सम्झौता सम्पन्न भयो ।
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्यो ।

Ad