January 12th, 2018

गरिमा विकास बैंकले पुर्यायो अढाई अर्ब चुक्तापुँजी

गरिमा विकास बैंक लिमिटेडको पौष २८ गते शुक्रबार सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न ११ औं बार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनी समुहतर्फबाट सञ्चालक समितिमा रिक्त रहेको २ जना सञ्चालकमा डा.भूपेन्द्र बहादुर खड्का क्षेत्री र संजीव ढकाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ । 

दुई अर्ब २० करोड ४२ लाख ४३ हजार चुक्ता पुँजी रहेको विकास बैंकको १५ प्रतिशत बोनश सेयर वितरणपश्चात चुक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख ८० हजार पुगेको छ । साधारण सभाको लागि २०७४ पौष १४ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७४ पौष १३ गतेसम्म कायम विकास बैंकका सेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश सेयर प्राप्त गर्नेछन् ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर ४९ शाखा र १२ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरी गरि १० वटा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले हाल करिब १७ अर्ब २० करोेड निक्षेप संकलन गरि १५ अर्ब ७० करोड कर्जा लगानी गरेको छ ।