बैंकिङ खबर । स्थापनाको १९ वर्ष पूरा गरेर २०औँ वर्षमा हिँडिरहेको एनआईसी एशिया बैंक लिमिटेडले यो वर्ष बजार विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाएको छ । चालु आर्थिक वर्षभित्रमा नै बैंकको शाखा संख्या दुई सय र एटीएम संख्या तीन सय पुर्याउने योजना बैंकको छ । त्यस्तै, शाखारहित बैंकिङ सेवालाई समेत विस्तार गरेर गाउँगाउँमा बैंकिङ पहुँच पुर्याउने रणनीति बैंकले लिएको छ ।
पाँच स्थानीय तहमा शाखा विस्तार गर्ने
सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने सरकारी योजना अनुरुप एनआईसी एशिया बैंकले ५ जिल्लाका ५ स्थानीय तहमा शाखा कार्यालयहरु स्थापना गर्दैछ । बैंकले झापाको झापाको कचनकवल गाउँपालिका, ताप्लेजुङको मेरिङदेन गाउँपालिका, नवलपरासीको वुलिङटार गाउँपालिका, अछामको रामारोशन गाउँपालिका र कञ्चनपुरको बेदकोट नगरपालिकामा शाखा खोल्ने भएको छ । हालसम्म बैंक शाखा नपुगेका चार सय बढी स्थानीय तहमध्ये, २५० वटा स्थानीय तहमा २७ वटा वाणिज्य बैंकहरुले शाखा खोल्ने योजना बनाएका छन् । जसमध्ये, एनआईसी एशिया बैंक पाँच स्थानीय तहमा जाने भएको हो । यसका लागि तयारी थालिसकेको र छिटै नै शाखा विस्तार गरिने बैंकले जनाएको छ ।
झन्डै १०० शाखा उपत्यकाबाहिर
बैंकले हाल ६ लाखभन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १२८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका कुल शाखामध्ये, ३२ वटा शाखा उपत्यकाभित्र रहेका छन् भने बाँकी शाखा उपत्यकाबाहिर रहेका छन् । कैलाली, जुम्ला, रुकुम, जाजरकोट जस्ता अति विकट मानिएका जिल्लाहरुमा समेत एनआईसी एशिया बैंकले शाखा स्थापना गरी बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
अन्य आर्थिक क्षेत्रमा पनि योगदान गर्ने लक्ष्य
एनआईसी एसिया बैंकले बैंकिङबाहेक अर्थतन्त्रका अन्य क्षेत्रमा समेत योगदान पुर्याउने लक्ष्य लिएको छ । केही महिनाअघि मात्र एनआईसी क्यापिटल सञ्चालनमा ल्याएको बैंकले निकट भविष्यमा फूलफेजमा अनलाईनबाट आस्वा एकाउन्ट र डिपोजिट एकाउन्ट खोल्न सकिने गरी डिजिटल बैकिङ सेवा दिन लागेको छ ।