२०७४ आश्विन ३० गते

तिहारकै भोलिपल्ट कार्यालय हाजिर हुन कर्मचारीलाई सास्ती

बैंकिङ खबर । नेपालीहरुको दोस्रो महान पर्व तिहार भोली अर्थात असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । मंगलबार तिहारको पहिलो दिन कागको पुरा गरेर मनाउने हिन्दु परम्परा छ । विगतमा सरकारले तिहारका लागि काग तिहारकै दिनदेखि सार्वजनिक बिदा दिने चलन भए पनि यसपाली बिदा घटाएर लक्ष्मी पुजाको दिनदेखि भाईटिककाको दिनसम्म सार्वजनिक बिदा दिने भएको छ । 

सरकारले ४ गते भाइटिकाका दिनसम्म मात्रै बिदा दिने भएपछि बैंकका कर्मचारीहरुलाई समस्या परेको छ । तिहार मनाउन टाढा टाढा जानुपर्ने कर्मचारीहरु ४ गते भाइटिका मनाएर ५ गते नै कार्यालयमा हाजिर हुनुपर्ने अर्को बाध्यता छ । भाइटिकाको भोलीपल्टदेखि नै बैंक खुल्ने भएपछि समस्यामा परेको कृषि विकास बैंकका एक कर्मचारीले बताए । ‘तिहारको बिशेष दिन भनेको नै भाइटिका हो’ बैंकिङ खबरसँगको कुराकानीमा कृषि विकास बैंकका ती कर्मचारीले भने– ‘मेरो घर सुदुरपश्चिममा छ, भाइटिकका मनाएर कसरी ५ गते नै कार्यालयमा हाजिर हुनु ?’ 

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कुमार लामिछानेको भनाई पनि उस्तै छ । भाइटिकाको भोलीपल्ट नै कार्यालयमा हाजिर हुन आफूलाई समस्या भएको लामिछाने बताउँछन् । ‘तिहार मनाएर भाइटिकाको भोली पल्ट नै कार्यालयमा हाजिर हुन अलि समस्या पर्छ’ बैंकिङ खबरसँग गुनासो गर्दै लामिछाने भन्छन्– ‘अगाडीको बिदा कटाएर भए पनि भाइटिकाको भोलिपल्ट बिदा दिन जरुरी छ ।’ 

कृृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका यी दुई कर्मचारीहरु त केवल प्रतिनिधि पात्र मात्रै हुन् । यिनीहरु जस्ता धेरै कर्मचारीहरु तिहार बिदाको समस्यामा छन् । भाइटिककाको भोलिपल्ट नै बैंक खुल्ने भए पनि कारोबार नहुने बैंकरहरुको भनाई छ । महानपर्व तिहारको भोलिपल्ट नै बैंकिङ कारोबार अत्यन्तै न्युन हुने हुँदा सो दिन सरकारले सार्वजनिक बिदा दिए राम्रो हुने बैंकरहरुको भनाई छ ।