Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

काठमाडौँमा फैलिँदै ‘गरिमा विकास बैंक’, न्युरोडमा खुल्यो नयाँ शाखा

२०७४ आश्विन २३ गते

गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २२, न्युरोडमा आफ्नो ४८औँ शाखा कार्यालयको स्थापना गरेको छ । सोमबार (असोज २३ गते) नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरे । गरिमा विकास बैंकको यस न्युरोड शाखा कार्यालयबाट ग्राहकहरुले अन्य बैंकिङ सुविधासहित एटिएम र लकर सुविधा समेत प्राप्त गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । समुद्घाटन कार्यक्रम गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । 

काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । हालै केन्द्रीय कार्यालय पोखराबाट काठमाडौँमा सारेको बैंकले अबको केही समय शाखा विस्तारमा जुट्ने योजना बनाएको छ । जसअनुसार, केही दिनभित्रमा नै रुपन्देहीको मणिग्राम शाखा कार्यालय संचालनमा ल्याउने तयारी भइरहेको सीईओ ढकालले जानकारी दिए । उनका अनुसार, चालू आर्थिक वर्षभित्रमा गरिमा विकास बैंकले प्रदेश नं. १ मा कम्तीमा १० शाखा कार्यालयसहित देशभर १५ वटा थप शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । 

म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको साविकको निलगिरी विकास बैंक र चितवनको नारायणगढमा केन्द्रीय कार्यालय रहेको साविकको शुभेच्छा विकास बैंक लिमिटेडलाई गाभेर सशक्त बन्दै अगाडी बढिरहेको गरिमा विकास बैंकका राजधानीमा छ वटा शाखा कार्यालयसहित देशभर ४८ वटा शाखा कार्यालय र १२ वटा एटिएम संचालनमा रहेका छन् । 

गरिमा विकास बैंकले असोज २२ गतेसम्ममा १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।