२०७४ आश्विन १९ गते

अझ फराकिलो बन्दै बीमा क्षेत्र, तीन निर्जिवन बीमा कम्पनी पनि थपिँदै

नेपालको बीमा क्षेत्र अझै फराकिलो हुने भएको छ । बीमा समितिले दशैँअघि तीन वटा निर्जिवन बीमा कम्पनीलाई संचालनका लागि ’लेटर अफ इन्टेन्ट’(आशयपत्र)दिएको छ । चारवटा निर्जीवन कम्पनीले संचालनको अनुमतिका लागि आवेदन दिएकोमा तीन वटाले मात्र आशयपत्र पाएका हुन् । 

प्रारम्भिक चरणको आशयपत्र पाउनेमा सानिमा इन्स्योरेन्स कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र अजोड इन्स्योरेन्स कम्पनी रहेका छन् । आवश्यक कागजपत्र पुर्याउन नसक्दा मनकामना इन्स्योरेन्स कम्पनीले भने आशयपत्र पाउन सकेन । अनुमति पाएका निर्जीवन बीमा कम्पनीले संचालनको अनुमति प्राप्त गर्नका लागि अबको तीन महिना भित्र एक अर्ब रुपैयाँ चुक्ता पूँजीको ७० प्रतिशत रकम जुटाउनु पर्नेछ । 

सानिमा इन्स्योरेन्स कम्पनीको प्रवर्द्धकमा अरुणकुमार ओझा, जुगल भुर्तेल, मोलिलाल दुगड र साम्भा लामा रहेका छन् । त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीको प्रवद्र्धकमा झपटबहादुर बोहोरा, राजेन्द्रदास श्रेष्ठ, उपेन्द्र पौडेल, प्रेमनिधि ज्ञवाली, राजेन्द्र लाल बज्राचार्य रहेका छन् भने अजोड इन्स्योरेन्स कम्पनीमा विनोदकुमार विष्ट, आजाद श्रेष्ठ, मीनमान श्रेष्ठ, राजेन्द्र कुमार कायस्थ, मीनबहादुर गुरुङ रहेका छन् । 

बीमा समितिले विगत १० बर्ष देखि समितिमा आवेदन परेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका लागि गत बैशाख तीन गते देखि २१ दिन सम्म आवश्यक कागजात पुर्याउन समय दिएको थियो । जसअनुसार, १० जीवन बीमा कम्पनी र ४ निर्जीवन बीमा कम्पनीहरुले लाइसेन्सको लागि कागजात पेश गरेकोमा यसअघि नै नौ वटा जीवन बीमा कम्पनीले व्यवसाय संचालन गर्न अनुमति पाइसकेका छन् । तीन वटा जीवन बीमा कम्पनीले त व्यवसाय पनि सुरु गरिसकेका छन् भने अरु कम्पनीहरु छिटै व्यवसाय थाल्ने तयारीमा छन् ।