२०७४ आश्विन ५ गते

भिसा कार्डबाट सपिङ गरे १० प्रतिशत नगद फिर्ता !

बैंकिङ कार्डबाट भुक्तानी गर्ने बानीको विकास गराउन विभिन्न बैंकहरु मिलेर नयाँ योजना ल्याएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आवद्ध रहेका बैंकहरुले आफ्नो भिसा कार्डका ग्राहकहरुलाई सिधै कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता दिने योजना घोषणा गरिएको हो । नेपालीहरुको महान चाडपर्वहरुलाई लक्षित गरी १० वटा बैंकले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरेर यस्तो योजना ल्याएका हुन् । 

यस योजनाबाट सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड, एनसीसी बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडका भिसा कार्ड ग्राहकहरु लाभान्वित हुनेछन् । यी बैंकहरुले ग्राहकहरुमा एटिएमबाट मात्र पैसा नझिकी सिधै बिक्रि केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानीको विकास गराउन यस्तो योजना ल्याएको बताएका छन् । 

यस योजनाअन्तर्गत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरीक भिसा डेविट वा क्रेडिट कार्डमार्फत नेपालभित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्रि केन्द्रहरुबाट सर–सामान खरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १०% नगद आ–आफ्नो खातामा फिर्ता पाउने छन् । साथै यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एकपटकमा कम्तीमा रु ५००सम्मको सामान खरिद गर्नुपर्ने हुन्छ भने कार्डबाहकले प्रत्येक दिन रु १००० सम्म मात्र नगद फिर्ता पाउनेछन् ।