२०७४ भाद्र १३ गते

पूर्वाधार छैन, बोझ थोपर्दै गाडी व्यापारी

अजय पंगेनी । मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । नेपाल अटोमोबाइल एशोसिएसन अफ नेपाल(नाडा)को आयोजनामा हुने यो मेलामा सवारी साधनका साथै एसोसेरिज समेत राखिन्छ । सवारीहरुको कुम्भ मेला मानिने यो मेला सन् १९९८ देखि हरेक वर्ष हुँदै आइरहेको छ । आयातकर्ता, डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरुको जमघट हुने भएकोले सवारीसाधन र त्यससँग सम्बन्धित बिबिध पक्षहरुको विकास, वजारीकरण र विस्तारका लागि यो प्रदर्शनी महत्वपूर्ण हुने बताइएको छ । 

यसपालीको मेलामा साना ठूला गरी १३० वटा स्टलहरु रहने र १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनमा रहेका छन् । प्रदर्शनी छ दिनसम्म चल्नेछ । वास्तवमा सवारीमा पैसा खन्याउनु भनेको विलासिलताको पाटो हो । सिमित व्यक्तिहरु मात्र आफ्नो आवश्यकता पूरा गरी अन्य खर्च धान्न सक्ने अवस्थामा रहेको नेपालजस्तो मुलुकमा यसरी विलासिलताको प्रवद्र्धन गरिनु केही व्यापारीहरुका लागि फाइदाजनक भएपनि मुलुकको हितमा भने छैन । 

सडक नभएको मुलुकमा गाडीको मेला
नेपालमा राम्रा र बलिया सडक छैनन् । वर्षात्को समयमा अलि ठूलो पानी पर्दा बाढी र पहिरोका कारण भएका सडकहरु पनि बन्द हुने गरेका छन् । सडक भत्केको लामो समयसम्म पनि मर्मत गर्न नसक्ने स्थिती छ । देखाउनकै लागि मात्र यस्ता सवारीहरुमा पैसा खर्च गर्नु भनेको आफूले दुःख गरेर आर्जेको सम्पत्ति पानीमा बगाउनु सरह हो । प्रदर्शनीहरु भएको समयमा पाएको छुटले आकर्षित भएर सवारी किन्नेहरु पछि कर्जा तिर्न नसकेर पछुताउनुपर्ने अवस्था आउन सक्छ ।

पूराना गाडीले मूल्य पाउँदैनन्
यस्ता प्रदर्शनीहरुमा पूराना गाडी लिएर नयाँ लैजान पाउने अफर समेत राखिएको हुन्छ । यद्यपि, पूराना गाडीहरुलाई राम्रो मूल्य दिइँदैन । पूराना गाडी बुझाएर पनि मोटो रकम दिएपछि मात्रै नयाँ गाडी पाइन्छ । नेपालमा ठूला गाडीहरु, रेल लगायतको सुविधा छैन । त्यसैले, साना गाडीहरुको माग बढि छ । यसै अवस्थाको फाइदा उठाउन गाडी व्यापारीहरु लागिपरेका हुन्छन् । अहिले त झन् दशैँतिहार आउन लागेको छ । चाडवाडका लागि भनेर मानिसहरुले पैसा जम्मा गरेको अवस्था छ । यस्तो बेलामा छुटको आशा देखाएर गाडी व्यापार गर्ने र राम्रो कमाई गर्ने सोच व्यापारीहरुको छ । 

मुलुकलाई घाटा
उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन तथा अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्न नेपाल राष्ट्र बैंक लागीपरेको छ । अनुत्पादक क्षेत्रमा गरिएका लगानीले मुलुकको विकासलाई पछाडि धकेल्छ । तर, यस्ता सवारी प्रदर्शनीहरुले सवारी जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न उक्साइरकेका छन् । यस्ता अटो शोहरुको अवसर पारेर बैंकहरुले पनि सस्तो व्याजदरमा कर्जा दिने अफर ल्याउँछन् । यसले सर्वसाधारणलाई सवारी खरिदमा अझ बढि प्रोत्साहित गर्ने हुन्छ । जुन, मुलुकका लागि मात्र नभएर खरिदकर्ताको लागि पनि फाइदाजनक नहुन सक्छ । गाडी किन्ने बेलामा बैंकले पनि ५।७ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउने र केही महिनापछि नै व्याज बढाएर १२।१३ प्रतिशत पुर्याउने गर्न सक्छन् । यसपटक त झन् ३५ प्रतिशत डाउन पेमेन्टमै सवारी कर्जा पाइने नीति लागूर भएको छ । यसले सर्वसाधारणलाई सवारी खरिदमा अझ बढी आकर्षित गरेको छ । 

छुटको लोभमा नफसौँ
आफ्नो उत्पादनको प्रवद्र्धन र मनग्य मुनाफा आर्जनका लागि प्रदर्शनीहरु गरिन्छन् । भनेजस्ता सामान भारी छुटमा पाइने लोभमा मानिसहरुको आकर्षण पनि बढी पाइन्छ । जुत्ता, पुस्तक लगायत थुप्रै कुराहरुको प्रदर्शनीहरु गरिन्छन्, जुन सामानहरु प्रयोगमा आउँछन् । मेलामा यस्ता अत्यावश्यक सामानहरु खरिद गर्नु नराम्रो हैन । तर, कर्जा नै लिएर सवारी जस्ता विलासिलताका कुराहरुमा खर्च गर्न एकदमै सोचविचार पुर्याउनुपर्ने हुन्छ । मेलामा राखिएका गाडीहरुको बजार भाउ कस्तो छ, छुटमा किन्दा आफूलाई साच्चै फाइदा हुने हो कि हैन भन्ने कुरामा निश्चिन्त भएर मात्र खर्च गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, आफूलाई आवश्यक नै छ भने मात्र यस्ता कुरामा खर्च गर्नु राम्रो हुन्छ ।  

पूर्वाधार विकासको आवश्यकता
आफ्नै सक्षमताले खरिद गरेर गाडी चढ्नु नराम्रो हैन । तर, राम्रो सडक समेत नभएको हाम्रो जस्तो मुलुकमा सवारी खरिद गर्दा भने विचार पुर्याउनैपर्छ । बरु पहिले सडक विस्तारमा ध्यान दिनु राम्रो हुन्छ । गाडी व्यापारीहरुले पनि यस विषयमा ध्यान दिनु राम्रो हुन्छ । सडक विस्तार भयो भने गाडीका ग्राहकहरु आफैँ बढ्छन् । भृकुटीमण्डमा भइरहेको सवारी प्रदर्शनीबाट हुने आम्दानीबाट ५ लाख रुपैयाँ बाढीपीडितलाई सहयोग उपलब्ध गराउने समेत आयोजकले जनाएका छन् । नाडाले यसअघि पनि बाढीपीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ । यो सकारात्मक पक्ष हो । यद्यपि, नेपालका गाउँगाउँमा सडक पुग्न नसक्दा सहरमा मात्रै सवारीको चाप बढिरहेको छ । यस्तो अवस्थामा गाडीको संख्या थपिँदा प्रदुषण बढ्ने, खर्च बढ्ने तर फाइदा कसैलाई पनि नहुने हुन्छ । गाडीको व्यवस्थापन हुन नसक्दा पछिल्लो समय ट्राफिक जाम, सडक दुर्घटना जस्ता समस्या मौलाएका छन् । त्यसैले, पहिले पूर्वाधार विकासमा जोड दिनुपर्ने देखिन्छ । यसमा, सरकार तथा सर्वसाधारण मात्र नभएर गाडी व्यापारीहरुले पनि ध्यान दिन सके उनीहरुकै व्यवसायमा दीर्घकालीन फाइदा पुग्ने देखिन्छ ।