नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७३।१०।१४ को निर्णय अनुसार एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभ्ने (मर्जर) सम्बन्धमा सोमबार एक समारोहका बीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डे र एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष एवं अर्थ मन्त्रालयका सह सचिव बैकुण्ठ अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभाले यस अघिनै एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा प्रस्ताब पारीत गरिसकेको छ । एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभिएपछि बैंकको चुक्तापूंजीमा अभिबृद्धि हुनुका साथै विद्यमान ग्राहकहरुलाई थप कारोबार गर्न सुविधा हुने बैंकिङ्ग सेवा तथा सुविधा अभिबृद्धि गरी ब्यापक पहुंचका साथै स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्न सकिनेमा विश्वास लिईएको छ । २०७४ माघ १ गते देखि एकीकृत कारोबार गरिने लक्ष्य लिईएको छ ।
सो कार्यक्रममा संयुक्त मर्जर समितिका संयोजक एवं रा.वा. बैंक संचालक समितिका सदस्य निर्मलहरी अधिकारी, सहसंयोजक एवं एनआईडिसी डेभलपमेन्ट बैंकका संचालक समितिका सदस्य मुकुन्दराज पन्थी, दुवै बैंकका संचालक समितिका सदस्यहरु, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवजी राय यादब, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे तथा नायब महाप्रवन्धक कविराज अधिकारी लगायतकोे उपस्थिती रहेको थियो ।