आरपी पौडेल, अजय पंज्ञेजी, रोयल आचार्य / बैंकलाई झुक्काएर ठगी गर्नेलाई बैंकिङ कसुर भनिन्छ । यसरी बैंकलाई ठगी गर्ने व्यक्ति जो कोही पनि अपराधि मानिन्छ । पछिल्लो ऐनले यस किसिमको कसुरलाई निकै ठुलो सजायका रुपमा लिएको छ । नेपालमा बैंकवित्तको संख्या बढेसँगै बैंक ठग्नेहरु बढेका छन् । बाहिरका व्यक्ति भन्दा पनि बैंक भित्रैका व्यक्तिले विभिन्न प्रपन्च रची यस्तो धन्दा गरेका छन् । केहीदिन अघि पोखरामा कैलाश विकास बैंकका कर्मचारी सर्बसाधारणको पैसा ठगेर अमेरीका पलायन भए । तत्पश्चाल नेपाल बैंकको धरान शाखामा कार्यरत कर्मचारीले पितललाई सुन भनेर धितो राखि १५ करोड ५१ लाख ठगी गरे ।
बैंकलाई ठग्ने धन्दा तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीबाट सुरु भएको हो । उनले आफै प्रमुख कार्यकारी अधिकृत रहेको किष्ट बैंकलाई ठगी गरेका थिए । हाल फरार रहँदै आएका छन् ।
यसरी पक्राउ पर्दैछन् अभियुक्तहरु
बैंकिङ कसुर अपराधअन्तर्गत नेपाल प्रहरीले नेपाल बैंक लिमिटेडमा कार्यरत ५ कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको छ । अनियमित एवं गैरकानुनी तवरले सुनकर्जा लिने–दिने कार्यगरी बैंकलाई १५ करोड ५१ लाख ४३ हजार ९ सय ५ रुपैयाँ ५७ पैसा हानी–नोक्सानी पु¥याएको भन्दै ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोको टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय, धरानमार्फत उच्च अदालत विराटनगरमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दायर गरेको छ । १ करोड बराबरको सुन धितो राखी १५ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका ६ जना व्यक्ति र मिलेमतोमा कर्जा दिने नेपाल बैंकका ५ कर्मचारीहरुलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर सिद्धेश्वर– ४ घर भई हाल धरान नगरपालिका–१७ बस्ने ऋणी ज्ञानेन्द्र पुरकुटी, सुनसरी धरान नगरपालिका–१७ बस्ने ऋणी सन्जीत रसाईली, सुनसरी इटहरी नगरपालिका–८ भोजपुर टोल बस्ने ऋणी माधव रिसाल, धरान नगरपालिका–१७ न्यूकृति मार्ग बस्ने ऋणी सन्तोष रसाइली, धरान नगरपालिका–१५ दशरथपथ बस्ने ऋणी सुनिल विक, सुनसरी प्रकाशपुरका लालबहादुर बिक, धरान–१६ घर भई नेपाल बैंक लि. धरान शाखाका तत्कालिन खजान्ची पदमा कार्यरत हाल निलम्बित होमबहादुर भट्टराई, सुनसरी जब्दी घर भई नेपाल बैंक लि. धरान शाखाका तत्कालिन सहायक शाखा प्रबन्धक हाल निलम्बित रामकिशोर मेहता, सुनसरी गैसार इटहरी घर भई हाल नेपाल बैंक लि. धरान शाखामा सहायक शाखा प्रबन्धक पदमा कार्यरत शंकर न्यौपाने, सुनसरी धरान–१६ घर भई नेपाल बैंक लि. धरान शाखामा कार्यरत सानुबाबु श्रेष्ठ र कैलाली बसौटी–८ रामपुर घर भई हाल नेपाल बैंक लि. सिटी अफिस बिराटनगरमा शाखा प्रबन्धक पदमा कार्यरत पुष्पराज घिमिरे रहेका छन् ।
किष्ट बैंक ठग्ने देवकी वस्ताकोटी पनि पक्राउ
उता तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी अभियुक्त देवकी वस्ताकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ । जम्को प्रकाशन प्रालिकी सञ्चालक रहेकी उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले बिहीबार बिराटनगरबाट पक्राउ गरेको हो । वस्ताकोटीलाई पुनरावेदन अदालत पाटनले २०७३ जेठ ३ गते बैंकिङ कसूर गरेको ठहर गर्दै ४ बर्ष कैद र ४ करोड २६ लाख जरीवानाको सजाय सुनाएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवाली कर्जा लगानी स्वीकृत समितिका पदाधिकारी तथा अन्य कर्मचारीहरु समेतलाई प्रभावमा पारी धितो वापत स्टकमा रहेका पुस्तक र बजारमा उठ्न बाँकी रहेको रकमलाई धितो मुल्य राखि ११ करोड बढी रकम कर्जा लिएकी थिइन् । त्यसबाहेक भक्तपुर जिल्लाका विभिन्न ठाउँमा कमसल मुल्यको जग्गा खरीद गरी १७ करोड ५ लाख कर्जा लिएकी थिइन् । अधिक मूल्यांकन गराइएको धितोमा उनले २०६७ असार ३१ गते किष्ट बैंकबाट १२ करोड रुपैयाँ जोखिमयुक्त कर्जा लिई सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेको अनुसन्धानपछि खुलेको थियो । उनीसँगै किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवाली र अन्य २ जनालाई पनि बेंकिङ कसुर लागेको छ । ज्ञवाली सहितका २ अभियुक्त फरार छन् । किष्ट बैंक विभिन्न बैंक तथा वित्तीय फाइनान्ससँगको मर्जरपछि हाल प्रभु बैंकका रुपमा स्थापीत छ ।
के हो बैंकिङ कसुर ? कस्तो छ सजाय ?
बैंक तथा वित्तीय क्षेत्रमा अन्तर्रा्ष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने केन्द्रीय बैंक छ । उसले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न आफैँ त्यससम्बन्धी कानुनसमेत तयार गर्छ । बैंक तथा वित्तीय संस्थाहरुले के गर्न हुने, के गर्न नहुने बाध्यकारी नियम बनाउँछ र कार्यान्वयन गराउँछ ।
बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक संसदबाट पारित भएको छ । यो व्यवस्थाले बैंकिङ कसुर गर्न उद्योग गर्ने व्यक्ति वा संस्था, त्यस्तो कसुर गर्न अप्रत्यक्ष रुपमा संलग्न व्यक्ति वा संस्थाका पदाधिकारीलाई मतियार घोषित गरी कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
बैंकका अवकासप्राप्त कर्मचारीलाई पनि कारवाही चलाउन सकिने ऐनले व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार कुनै बैंक तथा वित्तीय संस्थाको सम्पत्ति हिनामिना वा हानी नोक्सानी गरी बैंकिङ कसूर गरेकोबारे त्यस्तो कर्मचारी वा पदाधिकारीमाथी जहिलेसुकै पनि मुद्दा चलाउन सकिनेछ । त्यस्ता कर्मचारी वा पदाधिकारीले आफ्नो पदबाट अवकाश प्राप्त गरिसकेपछि पनि मुद्दा चलाउन बाधा नपर्ने ऐनमा उल्लेख गरिएको छ ।
सहकारीको कारोबारमा हुने दुरुपयोग तथा ढुकुटीको कारोबार पनि अब बैंकिङ कसुरभित्र परेको छ । बैंकिङ कसुरमा संलग्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीलाई थप सजाय, आफ्नो संस्थाबाट सञ्चालक तथा कर्मचारीले ऋण लिन नपाउने व्यवस्थालाई स्पष्ट पारिएको छ ।
एक अर्ब रुपैयाँभन्दा बढी कसूर गर्नेलाई १२ वर्षसम्म जेल सजाय गर्न सिफारिस गरिएको छ । ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कसुर गर्नेलाई ८ देखि १० वर्ष, १० करोडदेखि ५० करोड रुपैयाँ कसुर गर्नेलाई ६ देखि ८ वर्ष, १ करोडदेखि १० करोड रुपैयाँसम्म कसुर गर्नेलाई ४ देखि ६ वर्ष जेल सजाय हुने ऐनमा छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्म कसूर गर्नेलाई ३ देखि ४ वर्ष, १० लाखदेखि ५० लाखसम्म कसुर गर्नेलाई २ देखि ३ वर्ष र १० लाख रुपैयाँसम्म कसुर गर्नेलाई एक वर्षसम्म जेल सजाय हुने छ ।