सुष्मा थापा । गत आर्थिक वर्षमा नेपालमा छ अर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो वर्ष रेमिट्यान्स आप्रवाह ४.६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स बढेपनि रेमिट्यान्सको वृद्धिदरमा भरे ह्रास आएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ७.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
विदेशिने नेपाली घटे
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्याका कमी आएका कारणले रेमिट्यान्सको वृद्धिदर घटेको हो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४ मा गत वर्षको तुलनामा ४.७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा चार लाख १८ हजार सात सय १३ नेपाली नागरिक विदेशिएकोमा गत वर्ष तीन लाख ९८ हजार नौ सय ७८ मात्रै विदेशीएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ ।
जीडीपीमा रेमिट्यान्सको योगदान घट्यो
हाल मुलुकको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २६.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो योगदान २९.५ प्रतिशत रहेको थियो । कुल गार्हस्थ्य उत्पादनमा वृद्धि र रेमिट्यान्सको वृद्धिदरमा कमी आएका कारणले मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा घटेको छ । केन्द्रिय तथ्यांक विभागको अनुमानअनुसार, गत आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन वृद्धिदर ७.५ प्रतिशत रहेको छ, जुन आर्थिक वर्ष २०५०/५१ देखिको उच्चत्तम वृद्धिदर हो।



