सुष्मा थापा । गत आर्थिक वर्षमा अधिकांश लघुवित्त वित्तीय संस्थाहरुले खुद मुनाफा बढाएका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक भइसकेका लघुवित्तहरुमध्ये, चार वटाको मात्रै नाफामा गिरावट आएको छ । दुई वटा लघुवित्तले आधा दर्जन बढी खुद मुनाफा आर्जन गरेका छन् । त्यस्तै, चार वटा लघुवित्तको नाफा २० करोड नाघेको छ ।
दुई लघुवित्तको नाफा आधा अर्बबढी
दुई वटा लघुवित्तले आधा अर्बभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । निर्धन उत्थान बैंक लिमिटेड गत आर्थिक वर्षमा ५८ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दै सबैभन्दा धेरै नाफा गर्ने लघुवित्त बनेको छ । निर्धन उत्थानले अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ दशमलव ६६ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४० करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा धेरै नाफा गर्ने दोस्रो लघुवित्त संस्था छिमेक लघुवित्त विकास बैंक लिमिटेडले ५७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव ०३ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा ४७ करोड २६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
२० करोडमाथि नाफा गरेका लघुवित्तहरु
चार वटा लघुवित्तले २० करोडभन्दा बढी नाफा कमाएका छन् । साना किसान विकास बैंक लिमिटेड ३३ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । त्यस्तै, डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले २६ करोड २९ लाख रुपैयाँ, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २५ करोड छ लाख रुपैयाँ र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले २१ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
करोडमाथि नाफा कमाएका लघुवित्तहरु
वित्तीय विवरण सार्वजकि गरिसकेकामध्ये, लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १० करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले आठ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नौ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सात करोड २१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले पाँच करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको खुद मुनाफा एक करोड ६० लाख रुपैयाँ, विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षमा तीन करोड १७ लाख रुपैयाँ, नागबेली लघुवित्त विकास बैंक लिमिटेडले तीन करोड ३७ लाख रुपैयाँ, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई करोड ३७ लाख रुपैयाँ, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक करोड ६९ लाख रुपैयाँ र नमस्ते वित्तीय संस्था लिमिटेडले एक करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, स्वरोजगार लघुवित्त बिकास बैंक लिमिटेडले दुई करोड ८६ लाख रुपैंया, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड ९६ लाख रुपैयाँ, मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडले एक करोड ५४ लाख रुपैयाँ, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई करोड ३९ लाख रुपैयाँ र वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटडले दुई करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
थोरै नाफा कमाएका लघुवित्तहरु
गत आर्थिक वर्षमा नाफा बढाउने लघुवित्तहरुमध्ये, सबैभन्दा थोरै नाफा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४८ लाख रुपैयाँ कमाएको छ । यसका अलावा महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ९१ लाख रुपैयाँ, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६२ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४८ लाख रुपैयाँ र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
नाफा घटेका लघुवित्तहरु
वित्तीय विवरण सार्वजनिक गरिसकेकामध्ये, चार वटा लघुवित्तको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चार करोड ३१ लाख रुपैयाँ खुद मु्नाफा आर्जन गरेको छ । संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ४२ प्रतिशतले घटेको हो । रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४० दशमलव ०३ प्रतिशतले घटेको हो । त्यस्तै, नयाँ नेपाल लघु वित्त विकास बैंक लिमिटेडले ७० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा २५ प्रतिशतले घटेको हो । यता, मिथिला लघुवित्त विकास बैंक लिमिटेडको खुद मुनाफा ८५ लाख रुपैयाँ आर्जन गरेको छ जुन गत वर्षको तुलनाभन्दा ५ दशमलव ६३ प्रतिशतले घटेको हो ।