ज्योति बिकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विसजशन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार(भदौ ५ गते) सम्पन्न विशेष साधारणसभाले बाँके जिल्लाको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको ३ जिल्ला (बाँके, बर्दिया र दाङ्ग) कार्यक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा सम्पन्न साधारणसभामा खड्काले संचालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुले गरेको टिप्पणीमाथि अध्यक्ष खड्का तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरले जवाफ दिएपश्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो ।
प्रतिवेदन सहित सभाले मिति २०७४।०१।१० मा जारी भएको बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट २०७४।२।२२ मा जारी सूचना तथा २०७४।०४।१९ मा जारी विनियमालवी समेतका आधारमा ७ जना संचालक समिति रहने प्रावधान समेत स्वीकृत गरेको छ ।
त्यसैगरी ज्योति विकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मुल्याङ्कनकर्ता लेखापरिक्षकबाट प्राप्त प्राप्ति गर्ने र विलय हुने संस्थाको चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन तथा सो समेतको आधारमा संयुक्त प्राप्ति (एक्विजिसन) समितिबाट निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात १ः१ (एक अनुपात एक) लाई अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । साथमा म्गभ म्ष्ष्निभलअभ ब्गमष्तयच लाई भुक्तानी गरिएको पारिश्रमिक अनुमोदन गर्ने तथा ज्योति विकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी सम्झौतापत्रको स्वीकृत गर्ने तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी अन्य प्रकृया पुरा भएको हुँदा राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति प्रदान गर्ने समेत निर्णय विशेष साधारणसभाले गरेको छ ।
उक्त सभाले राप्तीभेरी विकास बैंक लिमिटेड प्राप्ति पश्चात प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्झौतापत्र अनुसार ज्योति विकास बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने हँुदा सो बमोजिम विकास बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न, हेरफेर गर्न र उपयुक्त ब्यबस्था गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने र बैंकको प्रबन्धपत्रको दफा ५ मा उल्लेखित विकास बैंकको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा संलग्न अनुसार उपदफाहरु थप गर्ने गरी विकास बैंकको प्रवन्धपत्र संशोधन गर्ने निर्णय समेत पारित गरेको छ ।
बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । साविक झिमरुक विकास बैंकसँग मर्जर गरी शाखा सञ्जाल ३२ वटा तथा एउटा एक्स्टेन्सन काउन्टर एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात थप ६ वटा शाखा बढ्ने छन् । नेपाल राष्ट्र बैंकबाट थप ५ वटा शाखा संचालनको लागि अनुमती प्राप्त भएको र प्रदेश स्तरमा समेत थप शाखा संचालन गर्न आवश्यक तयारी भैरहेको सभामा जानकारी गराइएको थियो । बैंकले आ.व.७३/७४ मा करिब १ लाख खाताबाट १० करोड ५१ लाख निक्षेप संकलन गर्न र ८००० ऋणी मार्फत ९ अर्व १३ करोड ऋण लगानी गर्न सफल भएको थियो । यस अवधिमा बैंकले २६ करोड १८ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराइयो ।




