२०७४ भाद्र १ गते

तराईमा बैंकिङ लगानीको जोखिम बढ्यो

सुष्मा थापा । अविरल वर्षका कारण आएको बाढीका कारण तराईका झन्डै दुई दर्जन जिल्ला डुवानमा परेका छन् । बाढीले झन्डै डेढ सयको ज्यान मात्रै लगेन उद्योग, कलकारखानाका साथै बैंकिङ क्षेत्रमा समेत ठूलो प्रभाव पार्यो । मुलुकको अन्नभण्डार मानिने तराई क्षेत्र नै प्रभावित भएपछि समग्र मुलुकको अर्थव्यवस्था नै प्रभावित बन्न पुगेको छ । डुवानमा परेका क्षेत्रमा अब बैंकिङ लगानीको समेत जोखिम बढेको छ ।

कृषिजन्य उत्पादन बढी हुने, धेरै उद्योगहरु भएको र भारतबाट सामानहरु आयात गर्ने रुट समेत तराईमा नै भएका कारण तराई क्षेत्रको यो संकटपूर्ण अवस्थाले समग्र मुलुकको अर्थतन्त्रलाई नै प्रभावित बनाइदिएको छ । बैंकिङ क्षेत्रको पनि ठूलो लगानी तराई क्षेत्रका कृषिजन्य व्यवसाय तथा उद्योगहरु पनि तराईमा नै छन् । यसहिसाले पनि मुलुकलाई ठूलो क्षति भएको छ ।

कृषि क्षेत्रमा असर
बाढीका कारण तराई क्षेत्रमा लगाइएका बालीनालीहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । मुलुकको अन्नभण्डार मानिएको तराई क्षेत्रमा उब्जिएका सम्पूर्ण खाद्यान्न, तरकारी तथा फलफूलहरु नष्ट भएपछि त्यहीँबाट आयातित खाद्यान्नले पेट पालिरहेका काठमाडौँ जस्ता सहरका मानिसहरु महँगीको चपेटामा परेका छन् । तराईबाट राजधानी जोडिने सम्पूर्ण राजमार्गहरु ठप्प हुँदा झन् समस्या थपिएको छ । यसरी, कृषिजन्य उत्पादनमा भएको क्षतिले बैंकहरुको लगानी समेत जोखिममा परेको छ ।  

औद्योगिक क्षेत्रमा असर
बाढीका कारण तराईका मूख्य सहर नै डुबानमा परेका छन् । नेपालका अधिकांश उद्योगहरु तराई भेगमा पर्ने भएकाले समग्र औद्योगिक क्षेत्र नै प्रभावित बनिरहेको छ । ठूला औद्योगिक क्षेत्रहरु समेत बाढीको प्रभावबाट बच्न नसकेको अवस्थामा त्यस्तो ठाउँमा गरिएको बैंकको लगानी पनि जोखिमपूर्ण भएको छ ।

भारतको बाँध
भारतले आफूलाई मात्रै फाइदा हुने गरि नेपालका थुप्रै नदिनालाहरुमा बाँध लगाएको छ । बाढी आउँदा नेपालमा मात्रै समस्या हुने तर सिँचाई लगायतका कुराहरु भारतलाई समेत फाइदा हुने तरिकाले भारतले नेपालका जलाशयहरुलाई प्रयोग गर्दै आइरहेको छ । यस्ता बाँधहरुका कारण अहिले मात्रै नभएर सँधै नै तराई क्षेत्र जोखिममा रहने गरेको छ । दुवैपटि बनाउनुपर्ने बाँध भारततर्फ मात्र बनाइँदा तराई क्षेत्र जलमग्न हुने गरेको र आपतको समयमा तुरुन्त बाँध भत्काउन नपाइने अवस्था छ । समग्रमा कोशी र कोशीको पानीतर्फ कर्के नजर लगाएको भारतसँग तल पर्न ५५ वर्षअघि गरिएको सम्झौताको पुनरावलोकन नभएसम्म कोशीको कहर र त्रास कम हुने अवस्था छैन ।

बैंकको लगानीलाई सँधै जोखिम
जलस्रोतको धनी देश नेपालका अधिकांश जलाशयहरु तराई क्षेत्रमा छन् । यसले कृषि क्षेत्रको उत्पादकत्व बढाउन मद्दत त गरेको छ, तर सँगसँगै बाढीको जोखिम पनि बढाएको छ । त्यसमाथि भारतले लगाएको बाँधले उक्त जोखिमलाई अझ बढावा दिएको छ । यस्तो अवस्थामा, तराईमा राम्रो उत्पादन हुने आशामा गरिएका सम्पूर्ण लगानीहरु जोखिममा पर्ने देखिएका छन् ।

पछिल्लो समय लघुवित्त संस्थाहरुमा समूहमा कर्जा लिएर व्यवसायिक रुपमा कृषि तथा पशुपालन, घरेलु उद्योग लगायतका व्यवसायहरु सुरु गरिएका छन् । यस्ता समूहहरु पनि तराईमा नै धेरै छन् ।