सेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि ठूलो अवसर आउने भएका छन् । झन्डै दुई दर्जन कम्पनी साधारण सेयर निष्काशनको प्रक्रियामा रहेका छन् । तीन अर्ब ४१ करोड ३३ लाख तीन हजार पाँच सय रुपैयाँ बराबरको पाँच करोड दुई लाख ८८ हजार सात सय ६३ कित्ता आईपिओ÷एफपिओ पाइपलाइनमा छन् भने ११ करोड ५५ लाख रुपैयाँ बराबरको ११ लाख ५५ हजार कित्ता सेयरले निष्काशनको अनुमति पाइसकेको छ ।
सपोर्ट माइक्रोफाइनान्सले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ जारी गर्ने अनुमति पाएको छ भने नेपाल ग्रामीण विकास बैंकले एक सय रुपैयाँ अंकित दरमा नै नौ करोड ७५ लाख रुपैयाँको नौ लाख ७५ हजार कित्ता एफपिओ जारी गर्दैछ । सपोर्टको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल र नेपाल ग्रामिण विकास बैंकको प्रभु क्यापिटल रहेका छन् ।
यसबाहेक, १८ वटा कम्पनी सेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिको पखाईमा छन् । रसुवागढी हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी, गर्जङ उपत्यका हाइड्रोपावर, जोशी हाइड्रोपावर, सुभम पावर, सान्जेन जलविद्युत् कम्पनी, पञ्चकन्या माइ हाइड्रो, राधी विद्युत् कम्पनी, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल, सीईडिबी हाइड्रो फण्ड, कालिका पावर कम्पनी, सामुदायिक लघुवित्त, उन्नति माइक्रोफाइनान्स र युनियन हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने अनुमति मागेका छन् भने प्रिमियर इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी र एनएमबि बैंकले एफपिओ निष्काशन गर्ने अनुमति माग गरेका छन् ।