रोयल आचार्य/बैंकिङ खबर- अविरल बर्षासँगै आएको बाढीका कारण तराई क्षेत्रमा ठूलै जनधनको क्षति भएको छ । केहि दिनदेखि लगातार आएको बर्षाले तराईका गाउँहरु डुबानमा परेका छन् । तराईका खोला, नदीनालामा आएको बाढीमा परी एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । बाढीका कारण उद्योग, कलकारखानाका साथै बैंकिङ क्षेत्रमा समेत प्रभाव पारेको छ ।
गत शुक्रबारदेखि सोमबारसम्म तराईका विभिन्न जिल्लामा बैंकिङ कारोबार ठप्प भएको थियो । तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबारदेखि भने नियमित सेवा दिन शुरु गरेका छन् । शुक्रबार साँझबाट परेको बर्षाले पानी जमेर बाटो हिँड्न समेत समस्या भएका कारण आइतबार मोरङ, सुनसरी, पर्सा, बर्दिया लगायतका बाढी प्रभावित क्षेत्रका बैंक शाखा पूर्ण रुपमा बन्द रहे । शनिबार बिदा भएका बैंकहरुले बाढीकै कारण आइतबार सेवा दिन सकेनन् । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहे पनि सेवा दिनुपरेको खण्डमा सक्ने अवस्था थिएन । मंगलबार बर्षामा कमी आएकाले नियमित जस्तै बैंकिङ सेवा सुचारु भएको छ ।
आइतबार बैंक शाखा कार्यालय परिसरमा करिब ५ फिट पानी जमेको गरिमा विकास बैंक पर्सा शाखाका प्रबन्धक हरिराम रेग्मीले बताए । ‘आइतबार करिब ५ फिट पानी जमेकाले शाखा भवनको पहिलो तल्लामा पस्न सक्ने अवस्था नै थिएन’ बैंकिङ खबरसँगको टेलिफोन कुराकानीमा शाखा प्रमुख रेग्मीले भने– ‘बाढीका कारण शाखामा कार्यरत कर्मचारी समेत आउन नसक्ने अवस्था भएकाले आइतबार बैंकिङ कारोबार गर्न सकेनौं ।’ सोमबारको अवस्था उस्तै भए पनि सार्वजनिक विदाका कारण सेवा दिनु परेन । तर, सार्वजनिक बिदा नभएको भएपनि बाढीका कारण सेवा दिन सकिने स्थिती नभएको उनले बताए ।
बर्दियाको गुलरियाको पीडा पनि पर्साको जस्तै बन्यो आइतबार । शुक्रबार साँझदेखि परेको झरीले शनिबार घर बाहिर निस्कनै सकेनन् स्थानीय । आइतबारसम्म लगातार पानी परेपछि शाखा वरीपरी पानी जमेका कारण शाखा खोल्नै नसकिएको प्रभु बैंक गुलरिया शाखाका प्रबन्धक गौरब शर्माले बताए । ‘जताततै पानी जमेका कारण मान्छेको आवातजावत समेत बन्द थियो’ बैंकिङ खबरसँगको टेलिफोन कुराकानीमा शाखा प्रबन्धक शर्माले भने– ‘बैंकिङ कारोबार गर्ने त स्थिती नै थिएन ।’ आइतबार गुलरियाको सबै बैंकहरुले कारोबार बन्द गरेको शर्माको भनाई छ ।
उता पूर्व मोरङको अवस्था पनि आइतबार उस्तै रह्यो । लगातार परेको पानीका कारण विद्युत्, इन्टरनेट लगायतमा समस्या आएको एनआईसी एशिया बैंक मोरङ टंकीसिनवारी शाखाका शाखा प्रबन्धक कुन्दन श्रेष्ठले बताए । मंगलबारबाट भने नियमितझैँ कारोबार भइरहेको श्रेष्ठको भनाई छ ।
केहि दिनअघि देखि लगातार परेको पानीका कारण तराईका २२ जिल्ला प्रभावित भएका छन् । बाढीपहिरोका कारण तराई क्षेत्रमा बैंकिङ कारोबार सहज रुपमा हुन नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।