Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मार्तडीमा पहिलो निजी वाणिज्य बैंक, एनआईसी एशियाले सुरु गर्यो बैंकिङ्ग सेवा

२०७४ श्रावण २५ गते

एनआईसी एशिया बैंक लिमिटेडले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा वित्तीय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पुर्याएको छ । ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रममा यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसंगको सहकार्यमा बैंकले उक्त बैंकिङ्ग सेवा सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा एनआईसी एशिया बैंक र यु. के. एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम) बीच औपचारिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । एनआईसी एशिया बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा संचालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको छ । 

यसअघि ६ जुलाई, २०१७ मा उक्त शाखा कार्यालयको प्रारम्भिक उद्घाटन सम्पन्न भएको थियो । शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली बैंकले रु ९ लाख ५० हजार निक्षेप संकलन गरेको थियो । सोहि दिनमा नै उल्लेख्य संख्यामा उपस्थित स्थानीय व्यक्तिहरुले शाखामा उपस्थित भई बैंकले देशको दुर्गम भेगमा समेत शाखा कार्यालय खोलेकोमा खुशी प्रकट गरेका थिए । उक्त शाखामा ६ अगस्ट २०१७ सम्ममा ३२० वटा निक्षेप खाताहरुबाट एक करोड ५५ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन भैसकेको छ । 

बैंकले शाखा विस्तार मार्फत सर्वसाधारणहरुको विच वित्तीय पहुँच विस्तार गरेकोमा स्थानीयवासीहरु निकै हर्षित भएका छन् । प्रायः बैंक तथा वित्तीय संस्थाहरु शाखा खोल्न ईच्छुक नहुने भौगोलिक हिसाबले अत्यन्त विकट वाजुरा जिल्लामा समेत बैंकिङ्ग पहुँच बाहिर रहेका सर्वसाधारणमाझ बैंकिङ्ग पहुँच अभिबृद्धि गर्न एनआईसी एशिया बैंकको उपस्थितिले सहजता प्रदान गरेको छ । 

औपचारिक हस्ताक्षर कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद पौडेलले देशको एकदमै विकट जिल्लामा निजी लगानीमा स्थापित बैंकहरुमध्ये पहिलो वाणिज्य बैंकको स्थापना भई बैंकिङ्ग पहुँच नभएको ठाउँमा बैंकिङ्ग सेवा पुर्याएकोमा हर्ष व्यक्त गरे । उनले यस्ता सहकार्य सरकारको प्राथमिकताभित्र पर्ने र यस साझेदारीबाट मार्तडीको ग्रामिण भेगका बासिन्दा लगायत आसपास क्षेत्रका बासिन्दाहरु समेत बैंकिङ्ग सेवाबाट लाभान्वित हुने विश्वास प्रकट गरे ।

“साथीसँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट एनआईसी एशिया बैंकले अङ्गिकृत गरेको बैंक पनि साथी पनि भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिइएको छ । यस बैंकले मार्तडी शाखाको अतिरिक्त उक्त जिल्लामा थप३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ । २०२० सम्ममा वित्तीय सबलीकरणलाई थप मजबुत पार्ने उद्देश्य सहित ३०० भन्दा बढी शाखा, १००० भन्दा बढी एटिएम र १,००० भन्दा बढी शाखा रहित बैंकिङ्ग सेवाजस्ता योजना रहेको जानकारी दिँदै मार्तडी शाखा तथा शाखारहित बैंकिङ्ग सेवाबाट आधुनिक बैंकिङ्ग सेवाहरु विस्तार गर्ने तथा विभिन्न व्यवसायिक कृषि, लघुउद्यम, कृषि औजार, विपन्न वर्ग तथा साना व्यापार कर्जा उपलब्ध गराउने जानकारी समेत दिए । 

उक्त कार्यक्रममा सक्षमका नेपाल प्रमुख बलजित वोहराले सक्षमले नेपालको हरेक ग्रामीण क्षेत्रमा औपचारिक वित्तीय पहुँच पुर्याउन चाहेको जानकारी दिए । यो लक्ष्य हासिल गर्न, सक्षमले हरेक वर्ष विभिन्न वाणिज्य बैंकहरु तथा लघुवित्त कम्पनीसंगको सहकार्यमार्फत बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार गरी नयाँ तथा आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै मध्यपश्चिम र सुदुर पश्चिमका सर्वसाधारण जनताहरुलाई सेवा पुर्याई रहेको जानकारी दिए । साथै उनले यस एनआईसी एशिया बैंकको सहकार्यबाट बाजुरा जिल्लामा प्रथम निजी बाणिज्य बैंकको स्थापना भएकोमा गौरव महशूस गरेको तथा बैंकले थप गर्ने शाखारहित बैंकिङ्ग सेवामार्फत करिब ४,००० जना सर्वसाधारणहरु बैंकिङ्ग सेवाबाट लाभान्वितहुने विश्वास प्रकट गरे ।

चुक्तापूँजी, वासलातको आकार, ग्राहक संख्या, शाखाको संख्या र एटिएम नेटवर्कको आधारमा एनआईसी एशिया बैंक नेपालको उत्कृष्ट वाणिज्य बैंकहरुमध्येको एक हो । हालसम्म देशका विभिन्न स्थानहरुमा गरी यस बैंकको ११९ शाखा कार्यालयहरु, ७८ एटीएम मेसिनहरु तथा ४ वटा बिस्तारित एक्सटेन्सन काउन्टरहरु संचालनमा रहेका छन् ।