रेमिट्यान्स पठाउनेलाई अब सहज हुने भएको छ । हरेक स्थानीय तहमा बैंक पुग्ने भएपछि अब विदेशबाट पैसा पठाउनेले आफ्नै गाउँमा सिधै पैसा पठाउने सक्ने भएका छन् । यसअघि, रेमिट्यान्स सहरको बैंकमा पुग्ने र गाउँबाट धाएर रकम निकाल्न आउनुपर्ने बाध्यता थियो । अब भने सो बाध्यता हटेको छ ।
२७ वटा वाणिज्य बैंकहरुले छिटै नै ४१२ स्थानीय तहमा शाखा विस्तार गर्दैछन् । जसमध्ये, २५० वटा स्थानीय तहमा चालू आर्थिक वर्षभित्र नै बैंक शाखा पुगिसक्नेछ । त्यसपछि, आआफ्नो स्थानीय तहमा रहेको बैंकमार्फत विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा आफन्तलाई पैसा पठाउन सक्नेछन् ।
हुण्डी घट्ने अपेक्षा
गाउँगाउँमा नै बैंक पुग्ने भएपछि अवैधानिक तवरले हुण्डीमार्फत पैसा पठाउने क्रम घट्ने अपेक्षा गरिएको छ । गाउँमा नै बैंक नहुँदा पैसा लिन टाढासम्म धाएर जानुपर्ने लगायतका समस्याका कारण हुण्डीमार्फत पैसा पठाउने क्रम बढिरहेको सन्दर्भमा अब हरेक गाउँमा बैंक पुग्ने र बैकमार्फत गरिने कारोबार सुरक्षित समेत हुने भएपछि हुण्डी प्रयोगकर्ता घट्ने विश्वास लिइएको छ । औपचारिक अर्थतन्त्र निर्माणमा यसले ठूलो योगदान पुर्याउने देखिन्छ ।