ससानो पुँजीको परिचालन गरेर ग्रामिण क्षेत्रको अर्थतन्त्रमा सक्रिय भूमिका खेलेको लघुवित्तको पुँजी तत्काल बृद्धि नगरिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लघुवित्तहरुको पुँजी बढाउने अनुमान गरिएपनि अन्तत लघुवित्तहरुको पुँजीबृद्धि नहुने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले आफ्नो पहिलो मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ४ गुणा बढी पुँजीबृद्धिको नीति ल्याएका थिए । सोही अनुसार लघुवित्तहरुलाई पनि पुँजी बढाउने भन्नेबारे छलफल चलेको थियो । लघुवित्तको संख्या बढाइने भएपछि लघुवित्तको पुँजीबृद्धि रोकिएको समाचार स्रोतले जनाएको छ । राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति अबको केहीदिनमै सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा कम्पनीहरु लगायत उद्योग व्यवसायीहरुले आआफ्नो तर्फबाट सुझाव पेश गरिसकेका छन् । सबैको सुझावको उचित सम्बोधन गर्दै आर्थिक तथा वित्तीय क्षेत्रलाई अझ सबल बनाउने खालका व्यवस्थासहित आगामी मौद्रिक नीति ल्याउन लागिएको छ ।