साना विकास बैंकहरु आफैँले चुक्तापुँजी पुर्याउन सक्ने सम्भावना एकदमै कम देखिएको छ । विशेषगरी, एक जिल्ले तथा तीन जिल्ले विकास बैंकहरु अधिकांश वाािणज्य तथा ठूला विकास बैंकहरुसँग मर्जरमा गइसकेका छन् । विलय नभएका अब ३÷४ वटा मात्रै यस्ता विकास बैंकहरु छन् । मर्जर तथा एक्विजिशनमा नगएर बाँकी रहेका ३/४ वटा विकास बैंकहरुको पूँजीको अवस्था पनि निराशाजनक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ खबरसँग कुरा गर्दै राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले मर्जरमा नगई बाँकी रहेका विकास बैंकले तोकिएको मितिमा चुक्ता पूँजी पुर्याउन नसक्ने अवस्था रहेको बताए । उनले भने, ‘यीमध्ये केहिले हकप्रद तथा वोनश सेयर जारी गरेर चुक्ता पूँजी पुर्याउने सोचमा रहेका छन् । तर, राष्ट्र बैंकले तोकेको समयमा पूँजी पुर्याउन ती विकास बैंकहरु कि मर्जरमा जानुपर्छ कि पुँजी थप्नुपर्छ ।’
साना विकास बैंकहरुको पुँजीवृद्धिमा देखिएको यस्तो समस्याका लागि राष्ट्र बैंकले कुनै विशेष निर्णय समेत गरेको छैन । हुन त, पुँजीवृद्धिको योजनाबाट राष्ट्र बैंकले साना बैंकहरुलाई हटाएर ठूला बैंकलाई नै मुलुकभर विस्तार गर्न चाहेको थियो । राष्ट्र बैंकको सो उद्देश्य अब पूरा हुने संकेत देखिएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूँजी पुर्याउन नसक्ने विकास बैंकहरुलाई पुँजी पुर्याउनका लागि लागि थप केहि समय दिने विषयमा भने सोच्न सक्ने देखिन्छ । ‘पुँजी पुर्याउने प्रयन्तस्वरुप जसले हकप्रद तथा वोनश सेयर जारी गरिरहेका वा प्रक्रिया अघि बढाइसकेका विकास बैंकहरुलाई थप समय दिइन्छ,’ सहप्रवक्ता पण्डितले भने, ‘थपिएको त्यो समयमा पनि पुँजी पुर्याउन नसके राष्ट्र बैंकको बोर्डमा छलफल हुन्छ । बोर्डको निर्णय अनुसार आवश्यकता अनुसारको कारवाही हुन्छ ।’