आरपी पौडेल – विश्वकै शक्तिशाली र आत्मनिर्भर मुलुकहरुमध्येको एक चीन नेपालको छिमेकी राष्ट्र हो । नेपाल चीनभन्दा ७५ गुणा सानो छ भने जनसंख्याका दृष्टिले चीन ६० गुणा ठूलो छ । सीमा सम्बन्धका हिसाबले नेपालको चीनसँग ११११.४६ किमी सम्बन्ध रहेको छ । नेपाल र चीनको कुटनीतिक सम्बन्ध औपचारिक रुपमा सुरु भएको ६ दशक नाघिसकेको छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएपछि दुई देशबीच आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायतका क्षेत्रमा उल्लेखनीय विकास भएको छ । फरक–फरक सामाजिक व्यवस्था अवलम्बन गरेका नेपाल र चीनले आपसी सम्बन्धलाई बढी विश्वासिलो र भरपर्दो बनाउन एकले अर्काको सार्वभौमिकता र अखण्डताको निरन्तर सम्मान गर्दै एकले अर्कोलाई सहयोग गर्दै अगाडि बढ्ने नीति अवलम्बन गरेको पाइन्छ ।
नेपालमा चिनियाँ लगानीको पछिल्लो अवस्था
आर्थिक वर्ष २०७२/७३ मा नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढी चिनियाँ लगानी भित्रिएको तथ्यांक छ । आर्थिक वर्ष २०६७/६८ मा ७० प्राजेक्टको लागि १ अर्ब २३ करोड ५० लाख रुपैयाँ चिनियाँ लगानी नेपालमा आएको थियो । आर्थिक वर्ष २०६८/६९ मा ७७ प्रोजेक्टको लागि ९८ करोड ६० लाख रुपैयाँको लगानी भित्रिएकोमा आर्थिक वर्ष २०६९/७० नेपालमा चिनियाँ लगानी पाँच गुणाले बढेर १ सय १ प्रोजेक्टको लागि ५ अर्ब ८० करोड आठ लाख रुपैयाँ भित्रियो । आर्थिक वर्ष २०७०/७१ मा चिनियाँ लगानी पुनः बढ्यो । १ सय २२ प्राजेक्टको लागि ८ अर्ब ३८ करोड ६० लाख रुपैयाँको लगानी यो आर्थिक वर्षमा भित्रियो । आर्थिक वर्ष २०७१/७२ मा चार गुणाले लगानी घट्दै १ सय ५४ उद्योगको लागि २ अर्ब ४६ करोड ८ लाख रुपैयाँ लगानी भयो । आर्थिक वर्ष २०७२/७३ मा भने सबै देशको लगानीमा ह्रास आउँदा चिनियाँ लगानीमा भने वृद्धि देखियो । यो वर्ष अघिल्लो वर्षको वर्षको तुलनामा तीन गुणाले वृद्धि भई ६ अर्ब ३६ करोड ७० लाख रुपैयाँ लगानी भित्रियो ।
नेपाल–चीन सम्बन्धको सुरुवातबारे फरकफरक किंवदन्ती
ऐतिहासिक किम्वदन्तीअनुसार काठमाडौँ उपत्यका विशाल तालको रुपमा थियो । चीनका धार्मिक ऋषि मन्जुश्रीले नेपाल घुम्न आउँदा चोभारको डाँडालाई कोटेर तालको पानी बाहिर पठाए र काठमाडौँ उपत्यकालाई वस्ती बस्न योग्य बनाए । धार्मिक रुपमा हेर्दा प्रथम शताब्दीमा नेपालबाट बुद्ध धर्मको चीनमा विस्तार भएको पाइन्छ । चीनका वौद्ध भिक्षुहरु फाइछिन र छुन्जाङले नेपाल भ्रमण गरी बुद्ध धर्म र नेपालका बारेमा किताबहरु लेखी चीनमा प्रचार गरेको पाइन्छ । सामाजिक सम्बन्धका दृष्टिले नेपालकी राजकुमारी भृकुटीको विवाह सातौं शताब्दीमा तिब्बतका राजा श्रङ चोङ घोम्फुसँग भएको थियो । सांस्कृतिक रुपमा १३ शताब्दीमा नेपालका कलाकार अरनिकोले बेइजिङमा प्यागोडा शैलीको सेतो मन्दिर बनाउने काम गरेबाट नेपाल चीन सम्बन्धमा परापूर्वकालदेखि नै थियो भन्ने पुष्टि हुन्छ ।
नेपाल–चीन सम्बन्धको विकासक्रम
चीनमा सन् १९४९मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र घोषणा भएको थियो । जनवादी गणतन्त्र चीनको पहिलो राष्ट्रपति चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङ र प्रधानमन्त्री चाउएनलाई थिए । ओझेलमा परेको चीन–नेपाल कुट्नीतिक सम्बन्धलाई अगाडि बढाउन सोही समयमा दुबैतर्फबाट पहल भयो ।
सन् १९५५ डिसेम्बर २४ मा नेपालले औपचारिक रुपमा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्यो । असंलग्न परराष्ट्र नीतिको पक्षधर संयुक्त राष्ट्र संघको बडा पत्रमा आस्था राख्ने नेपालले अन्तर्र्रािष्ट्रय शान्ति, निशस्त्रीकरण, भूपरिवेष्ठित राष्ट्रहरुको अधिकारलाई अन्तर्रा्ष्ट्रिय मञ्चमा उठाउन थाल्यो । असंलग्न आन्दोलनको सदस्यको हैसियतले चीनले सधैं नेपालले उठाएका मुद्दाहरुमा साथ दिँदै आयो ।
सन् १९५५ अप्रिल २४ मा इन्डोनेसियाको बाङडुङमा सम्पन्न असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा पहिलो पटक नेपालका राजा र चीनका प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो । सो समयमा नेपालका राजा महेन्द्र शाह थिए । उक्त भेटवार्तापछि दुवै देशले कुटनीतिक सम्बन्ध सुचारु गर्न तयार भए । असंलग्न राष्ट्रहरुको यो सम्मेलनले पञ्चशीलताका सिद्धान्तहरुलाई पारित गरेको थियो । यिनै सिद्धान्तका आधारमा नेपाल–चीनबीच मैत्रिपूर्ण सम्बन्ध स्थापना गर्ने औपचारिक घोषणा गर्यो । यही घोषणाका आधारमा चीन सरकारले नेपाल सरकारसँग वार्ता गर्न भनी चीनका वरिष्ठ कुटनीतिज्ञ जनरल युआन चुङ मिङको नेतृत्वमा एउटा टोली नेपाल पठायो । उक्त टोलीले नेपाल सरकारसँग पाँच दिनसम्म वार्ता गरी नयाँ परिस्थितिअनुसार कुटनीतिक सम्बन्ध स्थापना गर्न दुवै देश तयार भए । यसको औपचारिक घोषणा सन् १९५५ अगस्ट १ मा भयो ।
संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपालले निरन्तर रुपमा चीनलाई संयुक्त राष्ट्र संघको सदस्यताका लागि आवाज उठाइरह्यो । सन् १९७२ मा चीन संयुक्त राष्ट्र संघको औपचारिक रुपमा सदस्य बन्यो । दुई देशबीचको व्यापारलाई सहज गराउन १९५६ मा नेपाल–चीनबीच व्यापार तथा पारबाहन सम्झौता सम्पन्न भयो । २५ जनवरी १९५६ मा नेपाल सरकारको निमन्त्रणामा चीनका प्रधानमन्त्री चाउएनलाई नेपालको चार दिन भ्रमणमा आए । मार्च १९६० मा नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइराला चीनको राजकीय भम्रण गरे । कोइरालाको भम्रणसँगै दुई देशबीच सीमालाई वैज्ञानिक रुपमा रेखांकन गर्न नेपाल–चीन संयुक्त सीमा कमिटी गठन भयो । नेपालको सार्वभौमसत्ताको सधैं उच्च सम्मान गर्दै आएको चीनले पछिल्लो चरणमा लिपुलेक विवादमा जोडिन पुगेको छ ।
नेपाल र चीनबीच सहयोग आदानप्रदान
सुरक्षाका दृष्टिले नेपालले निरन्तर रुपमा एक चीनको नीतिलाई समर्थन गर्दै आएको छ । नेपालले चीनविरुद्धमा आफ्नो भूमि प्रयोग गर्न नदिने र एक चीन नीतिमा नेपालले आफ्नो प्रतिवद्धता जनाइसकेको छ । जसका कारण चीन सरकारले नेपाललाई विश्वासिलो असल छिमेकीको रुपमा व्यवहार गर्दै आइरहेको छ । चीन सरकारले नेपाल र नेपालीको आर्थिक समृद्धिका लागी बाँसबारी छाला जुत्ता, भृकुटी कागज कारखाना, बुटवल धागो कारखाना, टायर उद्योग, ईटा र टायल कारखाना, हेटौडा कपडा उद्याग, चिनी कारखाना, निजामतीलगायत विभिन्न ठाउँमा अस्पताल, भवन निर्माण, सडक, जलविद्युत, प्राविधिक शिक्षालय, सुरक्षा निकायका लागि आर्थिक, भौतिक, प्राविधिक लगायत भइपरी पाउँदा नेपाललाई अरवौं रकम सहयोग गर्दै आएको छ । नेपालमा गणतन्त्र स्थापनासँगै बदलिएको परिस्थितिसँगै नेपाल र चीनबीचको सम्बन्ध नयाँ ढंगले अगाडि बढीरहेको छ । चीनले वर्तमान राष्ट्रपति सि जिन पिङको ‘चाइनिज सपना’ नाराअन्र्तगत छिमेकमा रहेका जनताको समृद्धिका लागि मिलेर काम गर्ने अवधारणा अगाडि आएको छ ।




