रोयल आचार्य – बीमा क्षेत्रमा एक दर्जभन्दा बढी नयाँ बीमा कम्पनीहरु थपिने भएका छन् । बीमा समितिले नयाँ बीमा कम्पनीलाई अनुमति दिनका लागि २१ दिन भित्र समितिले तोकेको प्रक्रिया पुरा गर्न समितिमा आवेदन दिएको १४ नयाँ बीमा कम्पनीलाई बोलाएको छ । समितिले ५ वटा निर्जिवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनीलाई पत्राचार गर्दै तोकिएको समयमा आउन भनेको हो । पत्रचार गरिएका ९ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनी करिब १४ बर्ष अगाडी कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर अनुमतिको पर्खाइमा बसेका कम्पनीहरु हुन् । बीमा कम्पनी स्थापनाका लागि १० कम्पनी २०६४ साल अगाडी देखि नै कम्पनी रजिष्टारमा दर्ता भई बीमा समितिमा आवेदन दिएका थिए ।
बीमा कम्पनीको नियामक निकाय बीमा समितिले नयाँ कम्पनीहरुलाई भने तत्काल लाइसेन्स नदिने बताएको छ । धेरै पहिलेदेखि पेन्डिङ अवस्थामा रहेकालाई मात्रै अनुमति दिने तयारी गरिएको बीमा समितिका अध्यक्ष चिरंजिवि चापागाईँले बताए । बैकिङ खबरसँग कुरा गर्दै अध्यक्ष चापागाईँले भने –‘१० बर्ष अघिदेखि पर्खाइमा बसेका कम्पनीहरुलाई मात्रै पत्राचार गरेका छौँँ, नयाँको बारेमा एक कार्यदल बनाएका छौँ । कार्यदलको प्रतिवेदन पेश भएपछि त्यस बिषयमा छलफल अघि बढ्छ ।’ बीमा समितिबाट अनुमति कुरेर बसेका १४ कम्पनीहरु पनि समितिले तोकिएको प्रक्रिया सबै पुरा गरे मात्रै अनुमति पाउने अध्यक्ष चापागाईँको भनाई छ । समितिले गत चैत्र १८ गते जारी गरेको ‘बिमक दर्ता तथा बीमा व्यवसाय संचालन सम्बन्धी निर्देशिका,२०७३’ अनुसार मापदण्ड पूरा भएका बीमा कम्पनीहरुले मात्रै अनुमति पाउने छन् ।
लाइसेन्स प्राप्तिका लागि मापदण्ड
बीमा समितिले अनुमति दिनका १४ बीमा कम्पनीलाई पत्राचार गरे पनि सबैले लाइसेन्स पाउने सम्भावना भने कम छ । गत चैत्र १८ गते बीमा समितिले जारी गरेको ‘बिमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३’ अनुसार ती कम्पनीहरुलाई पत्राचार गरे पनि कतिपय निर्देशिकाले तोकेको मापदण्ड पुरा गर्न नसक्ने हुँदा सबैले लाइसेन्स पाउँछन् भन्न सकिने अवस्था छैन ।
यी कम्पनीहरुले लाइसेन्स पाउनका लागि निर्देशिकाले तोकेअनुसार जीवन बीमा कम्पनीले दुई अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याएको हुनुपर्छ । साथै स्थिर सम्पत्तिको विवरण, बीमालेखसम्बन्धी नयाँ योजना, व्यवस्थापन खर्च, पूँजी संरचनाको विवरण, नयाँ बीमकले स्थायित्व पाउन सक्ने तथा दिगो वृद्धि प्राप्त गर्ने आधारभूत रणनीति र कम्तीमा ५ वर्षको व्यावसायिक योजनालगायत तोकिएका सम्बन्धित विवरणसमेत पेश गर्नुपर्ने छ । निर्देशिकामा बिमक दर्तासम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन, चुक्तापुँजी, संस्थापना तथा दर्ता, विदेशी बिमक सञ्चालनसम्बन्धी व्यवस्था पनि गरिएको छ । निर्देशिकाले उल्लेख गरेबमोजिम बिमकको कुनै संस्थापक वा निजको एकाघर परिवारका कुनै व्यक्ति प्रचलित कानूनबमोजिम कालो सूचीमा परेको भएमा पनि प्रस्तावकले बीमा कम्पनी सञ्चालन गर्न नपाउने भएको छ । यसैगरी, बीमा व्यवसायको प्रमाणपत्र लिन चाहने प्रस्तावित बिमकले संस्थापक समूहमा न्यूनतम ५१ प्रतिशत सेयर, सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर छुट्याउन सक्ने व्यवस्था छ ।
लाइनमा रहेका जीवन बीमा कम्पनी
करिब १० बर्ष पहिले नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई बीमा व्यवसाय गर्नका लागि अनुमतिको पर्खाइमा ९ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् । नियामक निकाय बीमा समितिले कहिले अनुमति दिन्छ भनेर पर्खाइमा बस्ने कम्पनीहरुमा आईएमई समूहको नयाँ बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सनराइज लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, सननेपाल लाइफ इन्स्योरेन्स र स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स रहेका छन् ।
लाइनमा रहेका निर्जिवन बीमा कम्पनी
बीमा समितिले कहिले अनुमति दिन्छ, भनेर बाटो हेरेर बसेका ५ वटा निर्जीवन कम्पनीहरु रहेका छन् । करिब आधा दशक अघिदेखि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर बीमा समितिको अनुमति कसरेर बस्ने निर्जीवन बीमा कम्पनीहरुमा युनियन जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बिन्नी इन्स्यारेन्स, सानिमा इन्स्योरेन्स र आईडियल इन्स्योरेन्स छन् ।




