नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताहरुलाई सर्तकता अपनाएर लगानी गर्न सुझाव दिएको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले लगानीकर्ताले स्वयमको जोखीम बहन गर्न सक्ने क्षमतालाई दृष्टिगत गरी सत्य तथ्य बुझी धितोपत्रमा लगानी गर्न सुझाएको हो ।
सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा अनुमानका भरमा समाचार तथा विश्लेषण गरिने गरेको भन्दै बोर्डले बजारमा चलेको हल्ला र आधारहीन अनुमानको पछाडि नलागी धितोपत्र बजारमा लगानी गर्दा विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषण गरी लगानी गर्नुपर्ने बताएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गरिएको अड्कल अनुरुप सेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहन सक्ने बोर्डको भनाइ छ ।
धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, लाभांश तथा हकप्रद सेयरको घोषणा, देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताहरुको बजार प्रतिको विश्वासले प्रभाव पार्ने बोर्डले बताएको छ । हाल देशको आर्थिक परिसूचक तथा अधिकांश सूचिकृत कम्पनीहरुको अवस्था सन्तोषजनक देखिएको विज्ञप्तिमा उल्लेख छ ।


