
बैंकिङ खबर / सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा आफ्नो सेयर स्वामित्व घटाएर ६६ प्रतिशतमा सीमित गर्ने योजना कार्यान्वयनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । यसका लागि अर्थ मन्त्रालयले सेयर विनिवेशको उपयुक्त प्रक्रिया र मोडालिटी सिफारिस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।
सांसद सुशील खड्काको संयोजकत्वमा गठन गरिएको उपसमितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल, कानुन सचिव पाराश्वर ढुंगाना र अर्थ मन्त्रालयकी सहसचिव कविता रेग्मी सदस्य रहेका छन् । उपसमितिलाई नेपाल टेलिकममा सरकारको सेयर स्वामित्व घटाउने विषयमा विस्तृत अध्ययन गरी आवश्यक राय तथा सिफारिस पेस गर्ने जिम्मेवारी दिइएको छ ।
हाल नेपाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, नागरिक लगानी कोषको ०.०३ प्रतिशत तथा सर्वसाधारण र कर्मचारीको संयुक्त स्वामित्व ८.४८ प्रतिशत छ । सरकारले आफ्नो हिस्सा ६६ प्रतिशतमा झार्ने योजना कार्यान्वयन गरेमा सरकारी स्वामित्वमा रहेको २५.४९ प्रतिशत बिन्दु सेयर विनिवेश गर्नुपर्ने हुन्छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नै नेपाल टेलिकममा आफ्नो सेयर स्वामित्व घटाउने योजना सार्वजनिक गरेको थियो । सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई सूचना प्रविधि तथा प्रविधि क्षेत्रको केन्द्र (टेक हब) का रूपमा विकास गर्न उपयोग गर्ने सरकारको योजना छ ।
यद्यपि, विनिवेश गरिने सेयर सर्वसाधारणलाई बिक्री गर्ने, रणनीतिक लगानीकर्ता भित्र्याउने वा अन्य कुनै प्रक्रियाबाट बिक्री गर्ने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन । त्यस्तै, सेयरको मूल्य निर्धारण र बिक्री प्रक्रिया पनि अध्ययनपछि मात्रै टुंगो लाग्नेछ ।
नेपाल टेलिकम नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी भएकाले सरकारी स्वामित्व घटाउने निर्णयले यसको सेयर संरचनामा महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ । प्रस्तावित योजना कार्यान्वयन भएमा कम्पनीमा सर्वसाधारण तथा अन्य लगानीकर्ताको हिस्सेदारी बढ्नेछ । तर, बजारमा थपिने सेयरको परिमाण र त्यसले कारोबार तथा मूल्यमा पार्ने प्रभाव बिक्रीको मोडालिटीमा निर्भर हुनेछ ।
सरकारले आफ्नो स्वामित्व ६६ प्रतिशत कायम राख्ने योजना बनाएकाले प्रस्तावित विनिवेशपछि पनि नेपाल टेलिकममा सरकारकै बहुमत स्वामित्व रहनेछ ।