
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीसम्बन्धी कामका लागि पूर्वयोग्यता प्राप्त अन्तर्राष्ट्रिय कम्पनीसँग बोलपत्र आह्वान गरेको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार (मंसिर १३ गते) सार्वजनिक गरेको बोलपत्र आह्वानसम्बन्धी सूचनाअनुसार १५ करोड थान पाँच रुपैयाँका चलनचल्तीका सिक्का उत्पादन तथा आपूर्तिका लागि प्रक्रिया अघि बढाइएको हो । उक्त परिमाणका सिक्काको कुल अंकित मूल्य ७५ करोड रुपैयाँ बराबर हुन्छ ।
यस खरिद प्रक्रियामा यसअघि नै पूर्वयोग्यता हासिल गरेका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत सिक्का उत्पादन तथा आपूर्तिका लागि योग्य कम्पनी छनोट गर्न लागेको हो ।
बोलपत्र प्रक्रिया ‘सिंगल स्टेज टु इन्भेलप’ प्रणालीबाट सञ्चालन हुनेछ । यस व्यवस्थाअनुसार सहभागी कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखेर एकैपटक पेस गर्नुपर्नेछ । दुवै प्रस्तावलाई पुनः एउटै सिलबन्दी खामभित्र राखेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले बोलपत्रसम्बन्धी कागजात खरिद गर्ने अन्तिम मिति डिसेम्बर २८ अर्थात् पुस १३ गतेसम्म तोकेको छ । इच्छुक पूर्वयोग्य कम्पनीहरूले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टकमरी महाशाखाबाट बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन् । यसका लागि नेपाली रुपैयाँ २० हजार, अमेरिकी डलर १३२ वा युरो ११८ दस्तुर तोकिएको छ । उक्त दस्तुर फिर्ता नहुने व्यवस्था छ ।
बोलपत्र प्रक्रियासम्बन्धी विषयमा थप जानकारी तथा स्पष्टताका लागि राष्ट्र बैंकले डिसेम्बर ११ अर्थात् मंसिर २६ गते दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठक आयोजना गर्ने जनाएको छ ।
कम्पनीहरूले आफ्नो प्रस्ताव डिसेम्बर २९ अर्थात् पुस १४ गते दिउँसो १२ बजेसम्म बुझाइसक्नुपर्नेछ । प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा खोलिने सूचनामा उल्लेख छ ।
बोलपत्रमा सहभागी हुने कम्पनीले कम्तीमा एक लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा अथवा नेपाली रुपैयाँमा बैंक धरौटी पेस गर्नुपर्नेछ । उक्त धरौटी बोलपत्रको वैधता अवधिभन्दा थप ३० दिनसम्म कायम रहने गरी व्यवस्था गरिएको छ । बोलपत्रको वैधता अवधि प्रस्ताव पेस गरेको मितिदेखि १२० दिन तोकिएको छ ।
यसअघि राष्ट्र बैंकले नेपाली सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूको पूर्वयोग्यता निर्धारण प्रक्रिया अघि बढाएको थियो । सोही प्रक्रियाअन्तर्गत मार्च १२, २०२६ मा सार्वजनिक गरिएको सूचीमा चीन, रुस, पोल्यान्ड, स्लोभाकिया, क्यानडा र नेदरल्यान्ड्सका गरी छवटा कम्पनी पूर्वयोग्य ठहरिएका थिए ।
नयाँ बोलपत्र प्रक्रियाबाट छनोट हुने कम्पनीले पाँच रुपैयाँ दरका सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीको जिम्मेवारी पाउनेछ । यद्यपि, राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा सिक्का उत्पादन तथा आपूर्ति सम्पन्न हुने निश्चित मिति वा बजारमा वितरण सुरु हुने समय भने उल्लेख गरेको छैन ।
सिक्का उत्पादन तथा आपूर्तिको यो प्रक्रिया सम्पन्न भएपछि चलनचल्तीमा प्रयोग हुने पाँच रुपैयाँ दरका सिक्काको थप परिमाण उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।