Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डलर सञ्चिति संकट फेरि नदोहोर्‍याउने अर्थमन्त्री र गभर्नरको IMF समक्ष प्रतिबद्धता

२०८३ मंसिर १३ गते

बैंकिङ खबर  / नेपालको विदेशी मुद्रा सञ्चितिमा पुनः संकट आउन नदिने प्रतिबद्धता जनाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समक्ष महत्वपूर्ण नीतिगत प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले सन् २०२२ मा विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले अपनाएका आयात तथा विदेशी विनिमयसम्बन्धी प्रतिबन्ध पुनः लागू नगर्ने बताएका हुन् ।

अर्थमन्त्री र गभर्नरले आईएमएफलाई पठाएको आशयपत्र (लेटर अफ इन्टेन्ट) मा बाह्य क्षेत्रको स्थायित्व कायम राख्ने, विदेशी मुद्रा सञ्चितिको पर्याप्त स्तर जोगाउने र भुक्तानी सन्तुलनमा समस्या सिर्जना गर्ने नीतिगत कदम नचाल्ने उल्लेख गरेका छन् । नेपालले आईएमएफको विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत सातौँ तथा अन्तिम समीक्षा पूरा गर्ने क्रममा यस्तो प्रतिबद्धता जनाएको हो ।

सन् २०२२ मा नेपालको विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै गएपछि सरकारले विदेशी मुद्रा बाहिरिने क्रम नियन्त्रण गर्न विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । निजी सवारीसाधन, मदिरा, मोबाइल फोनलगायत वस्तुको आयातमा रोक तथा कडाइ गरिएको थियो । विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण बैंक तथा वित्तीय संस्थामार्फत हुने विदेशी मुद्रा सटहीमा समेत कडाइ गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

त्यतिबेला आयात नियन्त्रणलाई विदेशी मुद्रा सञ्चिति जोगाउने प्रमुख उपायका रूपमा प्रयोग गरिएको थियो । तर, अहिले त्यस्तो अवस्था पुनः आउन नदिन सरकारले आयात प्रतिबन्धजस्ता कठोर उपायभन्दा नीतिगत व्यवस्थापन र संरचनात्मक सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको हो ।

आशयपत्रमा नेपालले विदेशी मुद्रा सञ्चितिको पर्याप्तता कायम राख्ने, मौद्रिक नीतिलाई बाह्य क्षेत्रको अवस्थाअनुकूल बनाउने तथा विदेशी विनिमय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको छ । साथै, भुक्तानी सन्तुलनमा दबाब सिर्जना गर्ने तथा आईएमएफसँगको कार्यक्रमका प्रतिबद्धताविपरीत हुने नयाँ नीति तथा उपाय नअपनाउने उल्लेख गरिएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले मूल्य स्थायित्व र बाह्य क्षेत्रको स्थायित्वलाई मौद्रिक नीतिको प्रमुख उद्देश्यका रूपमा निरन्तरता दिने जनाएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न खुला बजार कारोबारलाई प्रभावकारी बनाउने, तरलता प्रक्षेपण सुधार गर्ने र ब्याजदर करिडोरलाई थप व्यवस्थित बनाउने विषय पनि नीतिगत प्राथमिकतामा राखिएको छ ।

आईएमएफको प्रतिवेदनअनुसार सन् २०२६ फेब्रुअरीसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति २२ अर्ब १० करोड अमेरिकी डलर पुगेको थियो । उक्त सञ्चितिले करिब १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ । यसले नेपालको बाह्य क्षेत्रको अवस्थामा सुधार आएको देखाए पनि विदेशी मुद्रा सञ्चितिको दिगो व्यवस्थापन आवश्यक रहेको आईएमएफको जोड छ ।

आईएमएफले विदेशी विनिमयसम्बन्धी पुराना प्रतिबन्धहरू क्रमशः हटाउन पनि सुझाव दिएको छ । विदेशी विनिमय प्रणालीलाई थप लचिलो, पारदर्शी र बजारअनुकूल बनाउँदै लैजानुपर्ने उसको धारणा छ ।

नेपालले विगतमा विदेशी मुद्रा सञ्चिति घट्दा आयात नियन्त्रणको सहारा लिनुपरेको थियो । अहिले सञ्चितिमा सुधार आए पनि आयातको आकार, रेमिट्यान्सको प्रवाह, विदेशी लगानी तथा अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिमा आउने उतारचढावले बाह्य क्षेत्रमा दबाब सिर्जना गर्न सक्ने जोखिम कायमै छ ।

त्यसैले अर्थमन्त्री र गभर्नरको पछिल्लो प्रतिबद्धतालाई विदेशी मुद्रा सञ्चिति जोगाउने मात्र नभई नेपालको बाह्य क्षेत्र व्यवस्थापनलाई दिगो र नीतिगत रूपमा व्यवस्थित बनाउने प्रयासका रूपमा हेरिएको छ । अब सरकारले आयात प्रतिबन्धमा निर्भर नभई उत्पादन तथा निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण र विदेशी मुद्रा आर्जनका स्रोत विस्तारमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।

Ad