Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

उत्कृष्ट वित्तीय प्रतिवेदनमा दक्षिण एसियामै चम्कियो नबिल बैंक

२०८३ मंसिर १३ गते

बैंकिङ खबर  /  उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत नबिल बैंक लिमिटेड दक्षिण एसियाकै प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका लागि बैंकले दक्षिण एसियाली स्तरको उक्त सम्मान प्राप्त गरेको हो ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले प्रदान गर्ने उक्त अवार्ड बंगलादेशमा शनिबार आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले ग्रहण गरेका हुन् । दक्षिण एसियाका निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेको भन्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

साफाले प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाहरूको वार्षिक प्रतिवेदन मूल्याङ्कन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई सम्मान गर्दै आएको छ । वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्डलाई आधार मानेर नबिल बैंकलाई अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले साफा मेरिट अवार्ड प्राप्त गर्नु बैंकका लागि मात्र नभई नेपालको समग्र बैंकिङ क्षेत्रकै लागि गौरवको विषय भएको बताएका छन् । उनका अनुसार यो सम्मान वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई निरन्तर अभ्यासका रूपमा आत्मसात् गर्दै आएको बैंकको प्रतिबद्धताको क्षेत्रीयस्तरमा भएको मूल्याङ्कन हो ।

नबिल बैंकले यसअघि आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका लागि पनि निजी क्षेत्रको बैंकिङतर्फ साफा मेरिट अवार्ड प्राप्त गरेको थियो । दोस्रो पटक उक्त सम्मान प्राप्त गर्नुलाई बैंकले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता र जवाफदेहितामा कायम राखेको निरन्तरताका रूपमा लिएको छ ।

यसअघि बैंकले आर्थिक वर्ष २०२४/२५ कै वार्षिक प्रतिवेदनका आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट वाणिज्य बैंकतर्फ उत्कृष्ट वार्षिक प्रतिवेदनको गोल्ड अवार्डसमेत प्राप्त गरेको थियो । राष्ट्रियस्तरमा प्राप्त उक्त सम्मानपछि दक्षिण एसियालीस्तरमा समेत सम्मानित हुनुले बैंकको वित्तीय प्रतिवेदनको गुणस्तरलाई थप मान्यता दिएको छ ।

बैंकले वार्षिक प्रतिवेदनमार्फत आफ्नो वित्तीय अवस्था र कार्यसम्पादनसँगै व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, दिगोपना तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि सार्वजनिक गर्दै आएको छ । सरोकारवालालाई बैंकका गतिविधि, उपलब्धि र भावी प्राथमिकताबारे विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले प्रतिवेदनको गुणस्तर र प्रस्तुतिमा निरन्तर सुधार गर्दै आएको बैंकको भनाइ छ ।

चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले नवीन प्रविधि र ग्राहककेन्द्रित सेवालाई प्राथमिकता दिँदै आएको छ । बैंकले डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक’ मार्फत बैंकिङ सेवालाई थप सहज, सरल र पहुँचयोग्य बनाउँदै आएको छ ।

हाल बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । वित्तीय समावेशिता, आर्थिक अवसरको विस्तार तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धतासहित बैंकले आफ्ना सेवा तथा गतिविधिलाई अघि बढाउँदै आएको जनाएको छ ।

Ad