Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्र बैंकको पुनर्संरचना योजना, ५ अर्ब पुँजी जुटाइने

२०८३ मंसिर १३ गते

बैंकिङ खबर  /   वित्तीय अनियमितताका कारण समस्याग्रस्त बनेको कर्णाली डेभलपमेन्ट बैंकलाई पुनर्जीवित गर्न नेपाल राष्ट्र बैंकले व्यापक पुनर्संरचना योजना अघि बढाएको छ । बैंकको स्वामित्व संरचना परिवर्तन गर्ने, नयाँ लगानीकर्ता भित्र्याउने र पुँजी आधार बलियो बनाउने लक्ष्यसहित राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको पुँजी संरचना तयार गर्ने रणनीति स्वीकृत गरेको हो ।

राष्ट्र बैंक सञ्चालक समितिले मंसिर ११ गते ‘कर्णाली डेभलपमेन्ट बैंक रिजोलुसन रणनीति, २०८३’ पारित गरेको हो । रणनीतिअनुसार बैंकमा वित्तीय अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकहरूको सेयर स्वामित्व साविकको एक प्रतिशतमा सीमित गरिएको छ । यसबाट बैंकमा विगतमा अनियमिततामा संलग्न व्यक्तिहरूको प्रभाव घटाउँदै नयाँ लगानीकर्ताका लागि स्वामित्वको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्र बैंकको निर्णयअनुसार अपचलनमा संलग्न व्यक्तिहरूको स्वामित्वमा रहेको २१ लाख ३६ हजार ६१ कित्ता संस्थापक सेयर र १२ हजार ६८५ कित्ता साधारण सेयर एक प्रतिशतमा सीमित गरिएको छ । यसअघि बैंकको जारी तथा चुक्तापुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेकोमा सेयर स्वामित्व समायोजनपछि २९ करोड १ लाख ४ हजार १६० रुपैयाँ कायम भएको छ ।

बैंकको पुँजी संरचना बलियो बनाउन अधिकृत पुँजी ६० करोड रुपैयाँबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्‍याउने योजना बनाइएको छ । यसका लागि ४ अर्ब ४० करोड रुपैयाँ थप पुँजी परिचालन गर्नुपर्नेछ । पुनर्संरचना तथा पुनर्पुँजीकरणपछि कायम हुने पुँजीको ६० प्रतिशत संस्थापक समूहमा रहने व्यवस्था गरिएको छ ।

यसअनुसार करिब २ अर्ब ६४ करोड ६३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर नयाँ लगानीकर्तामार्फत परिचालन गरिनेछ । सुरुमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिइनेछ । स्वदेशी लगानीकर्ताबाट आवश्यक पुँजी जुटाउन नसकिए विदेशी लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिने राष्ट्र बैंकको रणनीतिमा उल्लेख छ । यसले समस्याग्रस्त बैंकको पुनरुत्थानमा विदेशी पुँजी भित्र्याउने सम्भावनासमेत खुला गरेको छ ।

त्यस्तै, वित्तीय अपचलनमा संलग्न नभएका विद्यमान संस्थापक सेयरधनीलाई पनि बैंकको पुनर्पुँजीकरणमा थप लगानी गर्ने अवसर दिइनेछ । यस व्यवस्थाले बैंकको स्वामित्व संरचनामा नयाँ लगानीकर्तासँगै योग्य पुराना संस्थापकको सहभागिता कायम राख्नेछ ।

राष्ट्र बैंकको पुनर्संरचना योजनामा निक्षेपकर्तालाई समेत बैंकको सेयरधनी बन्ने अवसर दिइएको छ । ५ लाख रुपैयाँभन्दा बढी निक्षेप भएका व्यक्तिगत निक्षेपकर्ताले आफ्नो निक्षेपको अधिकतम ५० प्रतिशतसम्म रकम बराबरको संस्थापक सेयरमा स्वेच्छिक लगानी गर्न सक्नेछन् । यस प्रयोजनका लागि ८५ लाख कित्ता सेयर छुट्याइएको छ ।

निक्षेपकर्ताले यसरी खरिद गरेको संस्थापक सेयरलाई प्रचलित कानुनअनुसार सर्वसाधारण सेयर समूहमा परिणत गर्न सक्ने व्यवस्था पनि गरिएको छ । अर्थात्, निक्षेपकर्ताले आफ्नो निक्षेपको केही हिस्सा बैंकको पुँजीमा लगानी गरेर संस्थाको स्वामित्वमा सहभागी हुन सक्नेछन् । यद्यपि, यस्तो लगानी निक्षेप फिर्ता पाउने नगद भुक्तानीसरह भने होइन ।

नयाँ लगानीकर्ता, विद्यमान संस्थापक र निक्षेपकर्ताबाट आवश्यक पुँजी परिचालन गर्दा पनि ५ अर्ब रुपैयाँको लक्ष्य पूरा हुन नसके बाँकी रकम सर्वसाधारणका लागि सेयर जारी गरेर जुटाइनेछ । यसरी बैंकको पुनर्पुँजीकरणमा स्वदेशी तथा विदेशी लगानीकर्ता, निक्षेपकर्ता र सर्वसाधारणलाई समेत सहभागी गराउने योजना राष्ट्र बैंकले बनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार बैंकको वित्तीय अवस्था सुधार गर्ने, संस्थागत सुशासन कायम गर्ने तथा सर्वसाधारणको निक्षेप र हित संरक्षण गर्ने उद्देश्यले पुनर्संरचना रणनीति ल्याइएको हो । बैंकलाई पुनः सञ्चालनयोग्य, सबल र सुशासित वित्तीय संस्थाका रूपमा स्थापित गरी सर्वसाधारणको विश्वास पुनः कायम गर्नु यसको मुख्य लक्ष्य रहेको उनले बताएका छन् ।

वित्तीय अनियमितता र कमजोर वित्तीय अवस्थाका कारण राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई २०८१ पुसमा समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएको थियो । त्यसपछि बैंकको वित्तीय अवस्था सुधार, खराब कर्जा असुली, निक्षेप दायित्व व्यवस्थापन तथा संस्थागत सुशासन कायम गर्ने प्रक्रिया अघि बढाइएको थियो ।

राष्ट्र बैंकको पछिल्लो निर्णयले बैंकलाई खारेजीको बाटोमा लैजानुभन्दा पुँजी पुनर्निर्माण, स्वामित्व परिवर्तन र नयाँ लगानीमार्फत पुनः सञ्चालनमा ल्याउने विकल्पलाई प्राथमिकता दिएको देखिन्छ । तर, ५ अर्ब रुपैयाँ पुँजी जुटाउनु, खराब कर्जा असुल गर्नु, वित्तीय अनियमितताबाट सिर्जित दायित्व व्यवस्थापन गर्नु र निक्षेपकर्ताको विश्वास फर्काउनु बैंकका लागि मुख्य चुनौती हुनेछन् ।

पुनर्संरचना रणनीति स्वीकृत हुनु बैंकको पुनरुत्थानतर्फको महत्वपूर्ण कदम भए पनि यसको वास्तविक सफलता लगानीकर्ता भित्र्याउने प्रक्रिया, पुँजी परिचालन र व्यवस्थापन सुधारको प्रभावकारी कार्यान्वयनमा निर्भर रहनेछ । विशेषगरी लामो समयदेखि आफ्नो निक्षेप फिर्ताको प्रतीक्षामा रहेका सर्वसाधारणका लागि बैंकको पुनर्संरचना र वित्तीय सुधार कति छिटो अघि बढ्छ भन्ने विषय महत्वपूर्ण हुनेछ ।

Ad