बैंकिङ खबर / नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को-ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गतेदेखि आफ्नो सेवाको २९औँ वर्ष सुरु गर्न लागेको हो ।
कम्पनीका अनुसार सञ्चालनमा आएको २८ वर्षको अवधिमा २ करोड १२ लाखभन्दा बढी यात्रुले मनकामना केबलकारमार्फत सेवा लिइसकेका छन् । नेपालको पर्यटन तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको केबलकारले मनकामना मन्दिर दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज यातायात सेवा प्रदान गर्दै आएको छ ।
समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकार नेपालको केबलकार पर्यटनको विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ । यसको सञ्चालनले गोरखास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामना मन्दिरसम्म पुग्न यात्रुलाई सहज बनाएको छ ।
२८ वर्षको यात्रामा साथ दिने यात्रु, ग्राहक, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार र स्थानीय समुदायप्रति कम्पनीले आभार व्यक्त गरेको छ । कम्पनीले सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, चितवन तथा गोरखा जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायको सहयोगप्रति पनि धन्यवाद व्यक्त गरेको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । साथै आगामी दिनमा यात्रुलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । नेपालको पर्यटन क्षेत्रमा केबलकार सेवाको सम्भावना विस्तार गर्दै आएको मनकामना केबलकारले २९औँ वर्षको यात्रालाई थप प्रभावकारी र सेवामुखी बनाउने लक्ष्य लिएको छ ।