Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

डीबीएस बैंक बन्यो विश्वकै उत्कृष्ट डिजिटल बैंक, एसियाली बैंकलाई पहिलोपटक उपाधि

२०८३ कार्तिक १४ गते

बैंकिङ खबर / सिंगापुरको डीबीएस बैंक विश्वकै उत्कृष्ट डिजिटल बैंक घोषित भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्सले सन् २०२६ का लागि प्रदान गरेको ‘वर्ल्ड्स बेस्ट डिजिटल बैंक’ उपाधि डीबीएसले प्राप्त गरेको हो । यो सम्मान पाउने एसियाली मुख्यालय भएको पहिलो बैंकका रूपमा डीबीएसले आफ्नो स्थान बनाएको छ ।

डिजिटल बैंकिङमा प्रविधिको प्रयोग, ग्राहकलाई उपलब्ध गराइएका सेवा, डिजिटल कारोबारको सहजता र नवप्रवर्तनलाई आधार बनाएर बैंकलाई उक्त उपाधि प्रदान गरिएको हो । बैंकिङ सेवालाई परम्परागत शाखा र काउन्टरमा सीमित नराखी प्रविधिमार्फत ग्राहकको दैनिक आवश्यकतासँग जोड्ने प्रयासका कारण डीबीएसले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउँदै आएको छ ।

डीबीएसले यस वर्ष विश्वकै उत्कृष्ट कर्पोरेट तथा संस्थागत डिजिटल बैंकको उपाधि पनि लगातार तेस्रोपटक प्राप्त गरेको छ । यससँगै बैंकले वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगका लागि समेत अन्तर्राष्ट्रिय सम्मान हासिल गरेको छ । एआईमा आधारित बैंकिङ सेवा र वित्तीय ठगी पहिचान तथा नियन्त्रणका क्षेत्रमा गरेको कामलाई पनि सम्मान गरिएको हो ।

पछिल्लो समय डीबीएसले मोबाइल तथा अनलाइन बैंकिङ, डिजिटल भुक्तानी, कर्पोरेट कारोबार व्यवस्थापन र एआईमा आधारित सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको छ । प्रविधिको प्रयोगमार्फत ग्राहकलाई छिटो, सहज र आवश्यकताअनुसारको सेवा उपलब्ध गराउने रणनीतिमा बैंक केन्द्रित छ ।

डिजिटल बैंकिङको प्रतिस्पर्धा अहिले मोबाइल एप र अनलाइन कारोबारको सुविधा उपलब्ध गराउने विषयमा मात्र सीमित छैन । ग्राहकको आवश्यकता पहिचान गर्ने, कारोबारलाई सुरक्षित बनाउने, सेवा प्रवाहको समय र लागत घटाउने तथा सम्भावित वित्तीय जोखिम पहिल्यै पत्ता लगाउने क्षमतासमेत बैंकहरूको प्रतिस्पर्धात्मक आधार बन्दै गएको छ ।

डीबीएसले प्राप्त गरेको यो सम्मानले विश्व बैंकिङ क्षेत्रमा डिजिटल रूपान्तरण र एआईको बढ्दो महत्त्वलाई उजागर गरेको छ । बैंकिङ सेवा प्रविधिमैत्री बनाउने प्रतिस्पर्धा तीव्र भइरहेका बेला डीबीएसको उपलब्धिले डिजिटल बैंकिङको आगामी दिशा ग्राहककेन्द्रित सेवा, स्वचालन र सुरक्षित वित्तीय प्रणालीतर्फ अघि बढिरहेको संकेत गरेको छ ।

Ad