Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

कर्पोरेट बजारमा सुविसुको फोकस, इन्टरनेटसँगै क्लाउड र आईटी सेवा विस्तार

२०८३ आश्विन १९ गते

बैंकिङ खबर / इन्टरनेट तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनी सुविसु लिमिटेडले कर्पोरेट सेवाग्राहीसँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले नेपालगन्जमा ‘कनेक्ट–२०२६’ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आफ्नो २५ वर्षे यात्राका अवसरमा सेवाग्राही तथा साझेदारसँग प्रत्यक्ष संवाद बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । नेपालगन्जस्थित होटल स्टारलाइटमा आयोजित ‘कर्पोरेट क्लाइन्ट मिट एन्ड ग्रिट’ कार्यक्रममा नेपालगन्जसहित धनगढी, कोहलपुर, दाङ, सुर्खेत र बर्दियाका कर्पोरेट सेवाग्राही तथा साझेदार सहभागी भएका थिए । कार्यक्रममा सेवाग्राहीका आवश्यकता, अनुभव र सुझावबारे छलफल गरिएको थियो ।

‘कनेक्ट–२०२६ : कनेक्सन्स बियोन्ड कनेक्टिभिटी’ अवधारणामा आयोजना गरिएको कार्यक्रममा सुविसुले इन्टरनेट तथा नेटवर्क कनेक्टिभिटीबाहेक कर्पोरेट ग्राहकलाई लक्षित गरी विस्तार गरिएका विभिन्न सूचना प्रविधि सेवाबारे जानकारी गराएको थियो । कार्यक्रममा सुविसुका सिनियर भाइस प्रेसिडेन्ट–इन्टरप्राइज बिजनेस दिपेश मास्केले कम्पनीको २५ वर्षे यात्रामा सेवाग्राहीको विश्वास र सहकार्य महत्वपूर्ण आधार बनेको बताए । बदलिँदो प्रविधि र व्यावसायिक आवश्यकताअनुसार सेवा तथा समाधान विकास गर्दै ग्राहकसँगको सम्बन्धलाई थप बलियो बनाउने उनको भनाइ थियो ।

इन्टरनेटसँगै आईटी सेवामा विस्तार

सुविसुले परम्परागत इन्टरनेट तथा नेटवर्क कनेक्टिभिटी सेवासँगै कर्पोरेट ग्राहकको सूचना प्रविधिसम्बन्धी आवश्यकता पूरा गर्ने गरी विभिन्न सेवा विस्तार गरेको जनाएको छ । bकम्पनीले कर्पोरेट इमेल समाधानका रूपमा ‘मेल ३६०’, सुरक्षित इन्टरनेट सेवाका रूपमा ‘सेफनेट’ तथा विभिन्न क्लाउडसम्बन्धी सेवाबारे कार्यक्रममा जानकारी गराएको थियो । सुविसुले ‘सेफनेट’लाई सुरक्षित इन्टरनेट सेवाका रूपमा प्रस्तुत गरेको छ ।

कर्पोरेट तथा व्यवसायिक ग्राहकलाई एउटै सेवा प्रदायकमार्फत इन्टरनेट, नेटवर्क, क्लाउड तथा अन्य आईटी समाधान उपलब्ध गराउने उद्देश्यले कम्पनीले विभिन्न प्याकेजसमेत अघि सारेको छ । विशेषगरी साना तथा मझौला व्यवसाय (एसएमबी)लाई लक्षित गर्दै कम्पनीले ‘क्लाउड ३६०’, ‘कनेक्टिफाइ’, ‘हस्पिटालिटी ३६०’, ‘एसएमबी ३६०’ र ‘कनेक्ट ३६०’ लगायतका प्याकेजबारे जानकारी दिएको छ । कम्पनीका अनुसार एउटै प्याकेजमा विभिन्न आईटी सेवा उपलब्ध हुँदा व्यवसायीले फरक–फरक सेवा प्रदायकसँग समन्वय गर्नुपर्ने आवश्यकता कम हुनुका साथै लागत व्यवस्थापनमा समेत सहजता पुग्न सक्छ ।

सेवाग्राहीको सुझावलाई सेवा सुधारमा उपयोग गर्ने

सुविसुले कार्यक्रममा सेवाग्राही तथा साझेदारबाट प्राप्त सुझाव र अनुभवलाई आगामी दिनमा सेवा सुधार तथा नयाँ समाधान विकासमा उपयोग गर्ने जनाएको छ । प्रविधिको प्रयोगसँगै व्यवसायिक क्षेत्रमा इन्टरनेट, क्लाउड, नेटवर्क सुरक्षा तथा डिजिटल सञ्चार सेवाको आवश्यकता बढ्दै गएको अवस्थामा कम्पनीले कनेक्टिभिटीबाट अघि बढेर एकीकृत आईटी समाधानतर्फ आफ्नो सेवा विस्तार गरिरहेको देखिन्छ ।

२५ वर्ष पूरा गरेको अवसरमा सुविसुले देशका विभिन्न क्षेत्रमा यस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कम्पनीले आगामी दिनमा ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिको विकासलाई आधार बनाएर सेवा विस्तार तथा सुधारलाई निरन्तरता दिने बताएको छ ।