बैंकिङ खबर / औपचारिक बैंकिङ प्रणालीबाहिर सञ्चालन हुने अनौपचारिक वित्तीय सञ्जाल आपराधिक गतिविधिका लागि प्रयोग हुने जोखिम विश्वभर बढ्दै गएको पाइएको छ। वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्ने संस्था Financial Action Task Force (FATF) ले भूमिगत बैंकिङ, हावाला तथा यस्तै प्रकृतिका सेवा प्रदायकहरू व्यावसायिक सम्पत्ति शुद्धीकरणका महत्वपूर्ण माध्यम बन्दै गएको जनाएको छ।
FATF ले ३ सेप्टेम्बर २०२६ मा सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार, विश्वका ८० प्रतिशतभन्दा बढी रिपोर्टिङ क्षेत्राधिकारले underground banking तथा हावाला प्रकृतिका सञ्जाललाई व्यावसायिक सम्पत्ति शुद्धीकरणका प्रमुख माध्यम वा प्रविधिमध्ये एकका रूपमा पहिचान गरेका छन्। केही घटनामा यस्ता सञ्जालमार्फत केही महिनामै ५० करोड युरोभन्दा बढी रकम शुद्धीकरण गरिएको समेत प्रतिवेदनमा उल्लेख छ।
परम्परागत बैंकिङ प्रणालीको निगरानी र नियमनबाट बाहिर रहेका यस्ता सञ्जालले अपराधबाट प्राप्त रकमको वास्तविक स्रोत लुकाउन, सीमापार रकम सार्न तथा विभिन्न व्यक्तिको नाममा रकम व्यवस्थापन गर्न सहज माध्यम उपलब्ध गराउने गरेका छन्। यही कारण पछिल्लो समय हावाला तथा underground banking वित्तीय अपराध नियन्त्रण गर्ने निकायका लागि थप चुनौती बन्दै गएको छ।
डिजिटल प्रविधिसँगै बदलिँदै हावालाको स्वरूप
परम्परागत हावाला प्रणालीमा बैंकिङ च्यानल प्रयोग नगरी नगद, व्यापारिक कारोबार वा आपसी हिसाब मिलानमार्फत एक स्थानबाट अर्को स्थानमा मूल्य हस्तान्तरण गरिन्छ। यस्तो प्रणाली वैध रेमिट्यान्स तथा रकम हस्तान्तरणका लागि समेत प्रयोग हुन सक्ने भए पनि नियमन र निगरानीबाहिर रहेका संरचना आपराधिक प्रयोजनमा दुरुपयोग हुने जोखिम उच्च हुन्छ।
प्रविधिको विस्तारसँगै हावाला तथा अन्य अनौपचारिक मूल्य हस्तान्तरण प्रणालीको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। FATF का अनुसार करिब ७० प्रतिशत उत्तरदाताले नयाँ प्रविधिसँग अनौपचारिक वित्तीय सञ्जालको बढ्दो एकीकरणलाई जोखिमका रूपमा पहिचान गरेका छन्।
इन्क्रिप्टेड मेसेजिङ एप, डिजिटल वालेट, फिनटेक प्लेटफर्म, तत्काल भुक्तानी प्रणाली, भर्चुअल एसेट तथा स्टेबलक्वाइनजस्ता माध्यमको प्रयोगले सीमापार रकम हस्तान्तरणलाई थप तीव्र र जटिल बनाएको छ। यसले परम्परागत हावालालाई डिजिटल माध्यमसँग जोड्दै नयाँ स्वरूपको ‘डिजिटल हावाला’ विकास हुने जोखिम बढाएको छ।
क्रिप्टो पनि जोखिमको नयाँ माध्यम
क्रिप्टोकरेन्सीलाई आफैंमा अनौपचारिक वा आपराधिक वित्तीय प्रणालीका रूपमा परिभाषित गर्न मिल्दैन। तर नियमनबाहिरका क्रिप्टो कारोबार, अनियमित P2P कारोबार, गोप्य वालेट तथा अन्य भर्चुअल एसेटसम्बन्धी संरचनाको दुरुपयोगबाट आपराधिक रकम स्थानान्तरण र सम्पत्ति शुद्धीकरणको जोखिम बढ्न सक्छ।
क्रिप्टो कारोबारमा सीमापार रकम पठाउन परम्परागत बैंकिङ प्रणालीको तुलनामा फरक संरचना प्रयोग हुन सक्ने भएकाले अपराधी समूहले यसको दुरुपयोग गर्ने सम्भावना वित्तीय नियामकहरूको चासोको विषय बनेको छ। विशेषगरी स्टेबलक्वाइन तथा अन्य डिजिटल सम्पत्तिको प्रयोगले सीमापार मूल्य हस्तान्तरणलाई सहज बनाउन सक्ने भएकाले यसको जोखिम पहिचान र निगरानी थप महत्वपूर्ण बनेको छ।
यस अर्थमा हावाला र क्रिप्टो एउटै कुरा नभए पनि अनौपचारिक मूल्य हस्तान्तरण र डिजिटल सम्पत्तिको दुरुपयोगबीचको सम्बन्ध वित्तीय अपराध नियन्त्रणको नयाँ चुनौतीका रूपमा देखा परेको छ।
अपराधको दायरा पनि फराकिलो
पहिले लागुऔषध कारोबार, तस्करी तथा गैरकानुनी व्यापारबाट प्राप्त नगद व्यवस्थापनमा बढी प्रयोग हुने यस्ता सञ्जाल अहिले ठगी, साइबर अपराध, आतंकवादी वित्तपोषण, अवैध जुवा तथा संगठित अपराधबाट प्राप्त रकम व्यवस्थापनमा समेत प्रयोग हुन थालेका छन्।
FATF ले सम्पत्ति शुद्धीकरणलाई व्यावसायिक सेवाकै रूपमा सञ्चालन गर्ने समूहहरूको विकास भइरहेको समेत औंल्याएको छ। यस्ता समूहले अपराधीका लागि रकम संकलन, स्थानान्तरण, रूपान्तरण र पुनः लगानी गर्ने संरचना निर्माण गर्न थालेका छन्। यस्ता संरचनाले सीमापार रकम स्थानान्तरणका लागि औपचारिक बैंक खाता, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक, भर्चुअल आईबीएएन, प्रिपेड कार्ड तथा भर्चुअल एसेट वालेटसम्म प्रयोग गर्न सक्ने देखिएको छ।
यसले अपराधीहरूले बैंकिङ प्रणालीबाट पूर्ण रूपमा बाहिर बसेर मात्र काम गर्छन् भन्ने पुरानो अवधारणालाई समेत चुनौती दिएको छ। बरु उनीहरूले अनौपचारिक सञ्जाल र औपचारिक वित्तीय प्रणालीलाई एकआपसमा जोडेर रकमको स्रोत र गन्तव्य लुकाउने प्रयास गर्न थालेका छन्।
औपचारिक बैंकिङ प्रणालीसमेत जोखिममा
अनौपचारिक वित्तीय सञ्जाल र औपचारिक वित्तीय प्रणालीबीचको बढ्दो अन्तरसम्बन्धले बैंक तथा वित्तीय संस्थाका लागि पनि नयाँ जोखिम सिर्जना गरेको छ।
अपराधी समूहले नियमनका कमजोरी पहिचान गरी बैंक खाता, डिजिटल वालेट, फिनटेक तथा अन्य भुक्तानी माध्यमलाई अवैध रकम औपचारिक वित्तीय प्रणालीमा प्रवेश गराउने वा बाहिर निकाल्ने माध्यमका रूपमा प्रयोग गर्न सक्छन्। यसले बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचान, कारोबार निगरानी र संदिग्ध कारोबार पहिचान गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ। विशेषगरी असामान्य रूपमा ठूलो कारोबार, ग्राहकको आर्थिक क्षमतासँग नमिल्ने रकमको आवतजावत, सीमापार कारोबार तथा विभिन्न खाताबीच छोटो अवधिमा हुने रकम स्थानान्तरणलाई जोखिमका आधारमा विश्लेषण गर्नुपर्ने आवश्यकता बढेको छ।
नेपालका लागि पनि चुनौती
नेपालजस्तो वैदेशिक रोजगारी र रेमिट्यान्समा ठूलो निर्भरता रहेको मुलुकका लागि यो विषय अझ संवेदनशील छ। वैध रेमिट्यान्स र अनौपचारिक मूल्य हस्तान्तरणबीच स्पष्ट सीमा कायम गर्नु तथा अवैध रकमको प्रवाह रोक्नु वित्तीय प्रणालीको महत्वपूर्ण चुनौती हो। नेपालमा पनि बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनी तथा अन्य वित्तीय सेवा प्रदायकमार्फत हुने कारोबारको निगरानीलाई जोखिममा आधारित बनाउनुपर्ने आवश्यकता देखिन्छ। विशेषगरी डिजिटल भुक्तानीको विस्तारसँगै नयाँ प्रविधिमार्फत हुने कारोबारलाई प्रभावकारी रूपमा निगरानी गर्न नसकिए वित्तीय अपराधको स्वरूप थप जटिल बन्न सक्छ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले ग्राहकको पहिचान र कारोबारको प्रकृति बुझ्ने प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै शंकास्पद कारोबारको पहिचान र रिपोर्टिङ प्रणालीलाई पनि बलियो बनाउन आवश्यक हुन्छ। FATF ले सरकार, नियामक निकाय र निजी क्षेत्रबीच सूचना आदान–प्रदान, जोखिममा आधारित निगरानी, अनुसन्धान क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
वित्तीय अपराधको स्वरूप डिजिटल र सीमापार हुँदै गएकाले एउटै देश वा एउटै नियामक निकायको प्रयासले मात्र यसको नियन्त्रण सम्भव नहुने देखिन्छ। बैंक, डिजिटल भुक्तानी कम्पनी, फिनटेक, भर्चुअल एसेटसम्बन्धी सेवा प्रदायक, प्रहरी तथा वित्तीय अनुसन्धान निकायबीच प्रभावकारी सूचना आदान–प्रदान आवश्यक हुन्छ।
FATF अध्यक्ष गाइल्स थमसनले पनि व्यावसायिक रूपमा सञ्चालन भइरहेका सीमापार सम्पत्ति शुद्धीकरण सञ्जाललाई संगठित अपराधका लागि गम्भीर जोखिमका रूपमा व्याख्या गर्दै यस्ता संरचना पहिचान र विघटन गर्न सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
हावाला र क्रिप्टोलाई एउटै नजरले हेर्न मिल्दैन
हावाला, underground banking र क्रिप्टोकरेन्सीलाई एउटै अर्थमा बुझ्नु भने उचित हुँदैन। हावाला भनेको मुख्यतः बैंकिङ प्रणालीबाहिर मूल्य हस्तान्तरण गर्ने व्यवस्था हो भने क्रिप्टोकरेन्सी वा virtual asset डिजिटल स्वरूपको सम्पत्ति हो।
दुवैको प्रकृति फरक भए पनि नियमन र निगरानीको अभावमा दुवैलाई आपराधिक रकम स्थानान्तरण तथा सम्पत्ति शुद्धीकरणमा दुरुपयोग गर्न सकिने जोखिम भने रहन्छ। त्यसैले वित्तीय अपराध नियन्त्रणको दृष्टिले अहिलेको चुनौती केवल परम्परागत हावाला नियन्त्रणमा सीमित नभई डिजिटल वालेट, फिनटेक, भर्चुअल एसेट, स्टेबलक्वाइन र अन्य नयाँ वित्तीय प्रविधिसम्म विस्तार भएको छ।