बैंकिङ खबर / आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई प्रतिफल बाँड्ने प्रक्रिया सुरु भएको छ। भदौ २२ गतेसम्म तीन विकास बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन् ।
लाभांश घोषणा गर्नेमा गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन्। सार्वजनिक भएका प्रस्तावअनुसार सबैभन्दा धेरै लाभांश गरिमा विकास बैंकले दिने भएको छ ।
गरिमा विकास बैंकले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसअनुसार १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ।त्यस्तै, कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले भने कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।तीनवटै बैंकका लाभांशसम्बन्धी प्रस्ताव सञ्चालक समितिको निर्णयबाट अघि बढाइएका हुन् । प्रस्तावित लाभांश शेयरधनीले प्राप्त गर्न भने नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ ।
वित्तीय विवरण सार्वजनिक हुने क्रम बढेसँगै आगामी दिनमा अन्य विकास बैंकले पनि लाभांशसम्बन्धी प्रस्ताव सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यससँगै लगानीकर्ताको चासो बैंकहरूको नाफा, वितरणयोग्य मुनाफा र लाभांश दिने क्षमतामा थप केन्द्रित हुने देखिएको छ ।