बैंकिङ खबर / निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जनार्दन पन्तले लघुवित्त क्षेत्रले आफ्नो उद्देश्यअनुसार सेवा प्रवाहलाई वास्तविक विपन्न तथा आवश्यकतामा रहेका वर्गसम्म पुर्याउनुपर्ने बताएका छन् ।
डा. हरिहरदेव पन्तको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले लघुवित्तमार्फत गरिबी न्यूनीकरण, रोजगारी प्रवर्द्धन तथा आर्थिक र सामाजिक रूपमा कमजोर वर्गको सशक्तीकरणमा हुँदै आएको योगदानलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
नेपालमा गरिबीको अवस्थामा रहेका नागरिकको संख्या अझै उल्लेख्य रहेको भन्दै उनले लघुवित्त संस्थाहरूले आफ्नो सेवा त्यस्ता वर्गको आवश्यकता र अवस्थालाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने बताए। लघुवित्तको मूल उद्देश्यबाट विचलित नभई लक्षित वर्गमा वित्तीय पहुँच विस्तार गर्नुपर्ने उनको भनाइ थियो।“हरेक मानिसभित्र उद्यम गर्ने सम्भावना हुन्छ। त्यो क्षमतालाई सही अवसर र सहयोगमार्फत उजागर गर्न सके सुख, शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिन्छ,” अध्यक्ष पन्तले भने ।
उनले लघुवित्तलाई ऋण दिने संस्थाका रूपमा मात्र बुझ्न नहुने बताए। कर्जाको उचित प्रयोगसँगै उद्यम सञ्चालन, आयआर्जन वृद्धि र रोजगारी सिर्जनामा जोड दिन सके लघुवित्तले विपन्न परिवारको आर्थिक अवस्थामा दीर्घकालीन सुधार ल्याउन सक्ने उनको भनाइ थियो।वित्तीय पहुँचबाट बाहिर रहेका वर्गलाई औपचारिक वित्तीय प्रणालीमा समेट्दै उनीहरूमा उद्यमशीलताको विकास गर्नुपर्नेमा अध्यक्ष पन्तले जोड दिए। यसबाट आर्थिक अवसर विस्तार हुनुका साथै सामाजिक रूपान्तरणमा समेत योगदान पुग्ने उनले बताए ।
लघुवित्त क्षेत्रमा समयक्रममा देखिएका समस्या तथा विकृतिलाई सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले संस्थाहरूले सेवा प्रवाहमा सुधार, पारदर्शिता र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताए। चुनौतीको पहिचान गरी आवश्यक सुधार अघि बढाएमा लघुवित्त सेवा थप प्रभावकारी र लक्षित वर्गमैत्री बन्ने उनको धारणा थियो ।