काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ। डिस मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलसाट वनवेबले प्रभावित क्षेत्रमा सञ्चार सेवा तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएका हुन्। नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलसाट वनवेबसँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा वनवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार उक्त सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उपलब्ध गराउन थालिएको हो।
प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा समन्वयका लागि भरपर्दो सञ्चार सेवा अत्यावश्यक हुने भएकाले प्रभावित क्षेत्रका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्त्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। युटेलसाट वनवेबको लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइट प्रविधिमा आधारित यो कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थलमार्गमा आधारित दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको वैकल्पिक माध्यमका रूपमा काम गर्नेछ।
यस सेवामार्फत सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा मानवीय सहायता र राहत कार्यमा संलग्न सरोकारवालाबीच तत्काल सूचना आदान–प्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक डाटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। डिशहोमले प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध भएको अवस्थामा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको जनाएको छ। कम्पनीले विपद् व्यवस्थापन तथा पुनःस्थापनाको अवधिमा आवश्यकताअनुसार सेवा तथा स्रोत परिचालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
कम्पनीका अनुसार डिशहोमले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकताको मूल्याङ्कन गर्नेछ। दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकता र प्राथमिकताका आधारमा थप स्थानमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने डिशहोमले जनाएको छ। डिशहोम र युटेलसाट वनवेबले विपद्का समयमा प्रविधिको प्रभावकारी प्रयोगमार्फत आकस्मिक सञ्चार, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन र प्रभावित समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता सुदृढ गर्न योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।