Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

वाणिज्य बैंकमा नबिलको उच्च लाभांश प्रस्ताव : सेयरधनीलाई १५.८० प्रतिशत प्रतिफल

२०८३ भाद्र २२ गते

बैंकिङ खबर /  नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशअनुसार नबिल बैंक वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । बैंकका अनुसार ५ प्रतिशत बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख रुपैयाँभन्दा बढी रकम आवश्यक पर्नेछ । त्यस्तै, १०.८० प्रतिशत नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम छुट्याइएको छ । यी रकममा लाभांशमा लाग्ने करसमेत समावेश छ ।

नबिल बैंकले साधारण सेयरधनीसँगै ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई पनि नगद लाभांश प्रस्ताव गरेको छ । अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । बैंकको साधारण सेयरतर्फ चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ रहेको छ भने अग्राधिकार सेयरतर्फ चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । बैंकले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय उपलब्धि, व्यवसायको दिगो विस्तार तथा सेयरधनीलाई उचित प्रतिफल दिने उद्देश्यले लाभांश वितरणको प्रस्ताव गरेको जनाएको छ । १५.८० प्रतिशतको प्रस्तावित लाभांशसँगै नबिल बैंकले यस वर्ष वाणिज्य बैंकिङ क्षेत्रमा सेयरधनीलाई प्रतिफल दिने मामिलामा अग्रस्थान लिएको छ ।