
बैंकिङ खबर / रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाल लाइफले उक्त सहयोग रकमको चेक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहायता आवश्यक रहेको अवस्थामा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ। सहयोग रकमले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
नेपाल लाइफले विपद्का कारण प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले प्राकृतिक विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ। साथै, प्रभावित समुदायको राहत तथा पुनर्स्थापना कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।