बैंकिङ खबर/ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
सिआइबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार पन्तलाई बुधबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको हो। उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अघि बढाइएको तथा अदालतबाट म्याद थप गर्ने प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पन्तमाथि बैंकबाट प्रवाह गरिएको कर्जा रकमको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान भइरहेको छ। यही प्रकरणमा यसअघि एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष रूपन्देहीका ५८ वर्षीय शशिधर शर्मा पनि पक्राउ परिसकेका छन्। सिआइबीले उनलाई असार ३० गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट शर्माले प्रभु बैंकबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि स्वीकृत ४८ करोड रुपैयाँ कर्जा अन्य ऋणी कम्पनीहरूको बक्यौता भुक्तानी गर्न प्रयोग गरेको आशंका गरिएको छ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनमा पनि उक्त विषय उल्लेख भएको बताइएको छ।
प्रहरीका अनुसार कर्जा प्रवाहका क्रममा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने भन्ने कबुलियतनामाका आधारमा ऋण स्वीकृत गरिएको देखिएको छ। साथै, पारिवारिक सम्बन्धका कारण बैंकिङ प्रक्रिया र नियमको दुरुपयोग भएको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।
यसै प्रकरणसँग सम्बन्धित भएर प्रभु बैंककी सिबिओ रश्मी पन्तलाई नियन्त्रणमा लिई घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
