Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

घट्दो निक्षेप ब्याजदरले मारमा बचतकर्ताहरु : बैंकमा निक्षेपकर्ताहरु घट्दै !

२०८३ जेष्ठ ६ गते
सेयर:

बैंकिङ खबर / नेपालको बैंकिङ क्षेत्रमा पछिल्ला पाँच वर्षमा निक्षेप ब्याजदरमा ठूलो परिवर्तन देखिएको छ। एक समय बैंकहरूले निक्षेप आकर्षित गर्न १२ देखि १३ प्रतिशतसम्म ब्याजदर दिएका थिए भने अहिले अधिकांश बैंकहरूको मुद्दती निक्षेप ब्याजदर मुस्कीलले ४ प्रतिशत दिएका छन् ।  ब्याजदरमा आएको यही गिरावटले लाखौं बचतकर्ताको आम्दानीमा प्रत्यक्ष असर पारेको छ। विशेषगरी बैंक ब्याजलाई नियमित आम्दानीको स्रोत बनाएका वृद्धवृद्धा, पेन्सनर, वैदेशिक रोजगारीबाट फर्किएका नागरिक तथा मध्यमवर्गीय परिवार अहिले सबैभन्दा बढी प्रभावित देखिएका छन्।

नेपालको बैंकिङ प्रणालीमा ब्याजदर किन घट्यो, यसले निक्षेपकर्तालाई कस्तो असर गर्‍यो, र आगामी दिनमा यसको प्रभाव कस्तो रहन सक्छ भन्ने विषय अहिले आर्थिक बहसको केन्द्र बनेको छ।

पाँच वर्षअघि अर्थात् कोभिड–१९ महामारी सुरु हुँदा नेपालको अर्थतन्त्र असामान्य अवस्थामा पुगेको थियो। उद्योग–व्यवसाय बन्द भए, आर्थिक गतिविधि सुस्त बन्यो र कर्जा माग घट्न थाल्यो। त्यस समयमा बैंकहरूमा निक्षेप बढ्दै गयो, तर लगानी गर्ने क्षेत्र कम भए। परिणामस्वरूप बैंकहरूले निक्षेपमा कम ब्याज दिन थाले। त्यसबेला मुद्दती निक्षेपको ब्याजदर औसत ५ देखि ७ प्रतिशतसम्म सीमित थियो।

तर त्यसपछि परिस्थिति अचानक फेरियो। कोभिडपछि आयात अत्यधिक बढ्यो, बजारमा तरलता अभाव हुन थाल्यो र बैंकहरूमा लगानीयोग्य रकमको संकट देखा पर्यो। बैंकहरूले निक्षेप तान्न तीव्र प्रतिस्पर्धा गरे। यही प्रतिस्पर्धाका कारण २०७८ र २०७९ सालतिर निक्षेप ब्याजदर ऐतिहासिक रूपमा बढ्यो। कतिपय वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज दिन थाले भने विकास बैंक र फाइनान्स कम्पनीहरूले अझ आकर्षक दर प्रस्ताव गरे।

त्यो समय बचतकर्ताका लागि निकै लाभदायक मानिएको थियो। उदाहरणका लागि, १० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने व्यक्तिले वार्षिक १ लाख २० हजार रुपैयाँसम्म ब्याज आम्दानी गर्न सक्थे। धेरैले बैंक ब्याजलाई सुरक्षित र भरपर्दो आम्दानीको माध्यमका रूपमा हेरे। अवकाशप्राप्त कर्मचारी, पेन्सनर तथा विदेशबाट कमाएर फर्किएका नागरिकले आफ्नो बचत बैंकमा राखेर ब्याजबाट दैनिक खर्च चलाउने योजना बनाउन थाले।

तर अहिले अवस्था फेरि पूर्ण रूपमा बदलिएको छ। पछिल्लो दुई वर्षदेखि नेपालको अर्थतन्त्र सुस्त अवस्थामा छ। घरजग्गा कारोबार घटेको छ, उद्योग–व्यवसाय विस्तार हुन सकेको छैन, निजी क्षेत्र लगानी गर्न हिच्किचाइरहेको छ र कर्जा माग कमजोर बनेको छ। बैंकहरूमा निक्षेप भने निरन्तर बढिरहेको छ। सहकारी क्षेत्रमा देखिएको संकटपछि धेरै नागरिकले आफ्नो पैसा सहकारीबाट निकालेर बैंकमा राखेका कारण पनि बैंकिङ प्रणालीमा तरलता बढी भएको छ।

जब बैंकहरूमा पर्याप्त पैसा हुन्छ र कर्जा माग कम हुन्छ, तब बैंकहरूले निक्षेप तान्न उच्च ब्याज दिनुपर्ने आवश्यकता महसुस गर्दैनन्। यही कारण अहिले अधिकांश बैंकहरूको मुद्दती निक्षेप ब्याजदर ४ देखि ६ प्रतिशतमा झरेको छ भने बचत खाताको ब्याजदर २ देखि ३ प्रतिशतको सीमामा पुगेको छ।

यसले निक्षेपकर्तालाई प्रत्यक्ष आर्थिक नोक्सानी पुर्‍याएको छ। केही वर्षअघि १० लाख रुपैयाँमा वार्षिक १ लाख रुपैयाँभन्दा बढी ब्याज पाउने व्यक्तिले अहिले सोही रकममा करिब ५० हजार रुपैयाँ मात्र प्राप्त गरिरहेका छन्। अर्थात् उनीहरूको ब्याज आम्दानी आधाभन्दा बढीले घटेको छ।

यसमा अर्को गम्भीर पक्ष मुद्रास्फीति हो। बजारमा वस्तु तथा सेवाको मूल्य निरन्तर बढिरहेको अवस्थामा बैंक ब्याजदर कम हुनु बचतकर्ताका लागि थप चुनौती बनेको छ। उदाहरणका लागि, यदि बैंकले ५ प्रतिशत ब्याज दिइरहेको छ तर मुद्रास्फीति ७ प्रतिशत छ भने वास्तविक रूपमा बचतकर्ताको पैसाको मूल्य घटिरहेको हुन्छ। अर्थशास्त्रमा यसलाई “नेगेटिभ रियल रिटर्न” भनिन्छ। अर्थात् बैंकमा पैसा सुरक्षित भए पनि त्यसको खरिद क्षमता कमजोर हुँदै जान्छ।

यसको सबैभन्दा ठूलो असर वृद्धवृद्धा र पेन्सनरमा परेको देखिन्छ। धेरैले आफ्नो जीवनभरको कमाइ बैंकमा राखेर ब्याजबाट औषधि, स्वास्थ्य उपचार र दैनिक खर्च चलाउने गरेका थिए। अहिले ब्याजदर घटेपछि उनीहरूको मासिक आम्दानीमा ठूलो कमी आएको छ। कतिपयले आफ्नो बचत खर्च गर्न थालेका छन् भने कतिपय आर्थिक तनावमा परेका छन्।

मध्यमवर्गीय परिवार पनि प्रभावित भएका छन्। विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएर बैंक ब्याजलाई स्थायी आम्दानीको स्रोत बनाउने सोच बनाएका परिवार अहिले निराश छन्। बैंक ब्याजबाट घरखर्च धान्ने योजना कमजोर बनेपछि धेरैले वैकल्पिक लगानी खोज्न थालेका छन्।

यसबीच बैंकहरू भने केही हदसम्म लाभान्वित भएका छन्। निक्षेपमा कम ब्याज दिनुपर्दा बैंकहरूको “कस्ट अफ फण्ड” घटेको छ। यसले बैंकको नाफा सुधार गर्न सहयोग पुगेको छ। तर बचतकर्तामा निराशा बढ्दा दीर्घकालीन रूपमा बैंकिङ प्रणालीप्रति विश्वास कमजोर हुने खतरा पनि देखिएको छ।

हाल धेरै मानिस बैंकको कम ब्याजबाट असन्तुष्ट भएर शेयर बजार, सुन, घरजग्गा तथा म्युचुअल फण्डतर्फ आकर्षित हुन थालेका छन्। यद्यपि ती क्षेत्र जोखिमपूर्ण भएकाले सबैका लागि उपयुक्त विकल्प भने होइनन्। बैंक अझै पनि सुरक्षित बचतको माध्यम मानिन्छ, तर प्रतिफलको दृष्टिले आकर्षण घटिरहेको छ।

नेपाल राष्ट्र बैंकले पनि ब्याजदर स्थिर राख्ने र अर्थतन्त्र चलायमान बनाउने नीति लिएको देखिन्छ। कर्जा सस्तो बनाउने उद्देश्यले बैंकहरूलाई सहज मौद्रिक वातावरण दिइएको छ। यदि आगामी दिनमा उद्योग–व्यवसाय विस्तार भयो, कर्जा माग बढ्यो र अर्थतन्त्रले गति लियो भने ब्याजदर केही बढ्न सक्ने सम्भावना रहन्छ। तर केही वर्षअघिको जस्तो १२ वा १३ प्रतिशत ब्याजदर तत्काल फर्किने सम्भावना भने कम देखिन्छ।

समग्रमा हेर्दा पछिल्ला पाँच वर्ष नेपालको बैंकिङ इतिहासमा ब्याजदरको अत्यधिक उतारचढाव भएको अवधि बनेको छ। एकातिर बैंकहरू अहिले तरलताले भरिएका छन् भने अर्कोतिर बचतकर्ताको आम्दानी खुम्चिएको छ। ब्याजदर घट्नुले बैंकिङ प्रणालीलाई सहज बनाएको भए पनि लाखौं निक्षेपकर्ताको आर्थिक योजनामा ठूलो असर परेको छ।

आजको मुख्य प्रश्न यही बनेको छ—“बैंकमा पैसा सुरक्षित त छ, तर त्यसले जीवन धान्ने पर्याप्त प्रतिफल दिन सक्छ कि सक्दैन ?” यही प्रश्नले नेपालको बैंकिङ प्रणाली र बचत संस्कृतिको भविष्य निर्धारण गर्ने देखिन्छ।

बैंकहरूले जेठ महिनामा पनि व्याजदर घटाए

बैंकहरूले जेठ महिनामा पनि व्याजदर घटाएका छन् । कर्जा प्रवाह अत्यन्तै कम हुँदा पनि व्याजदर घट्न छाडेको छैन । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ४ देखि साढे ४ प्रतिशतसम्म छ । जेठ महिनामा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर वैशाखको तुलनामा ०.०५९५ प्रतिशत झरेर ४.३४३ प्रतिशत कायम भएको छ । वैशाखमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४०२५ प्रतिशत थियो ।

जेठमा ब्याजदर घटाएका ७ बैंकमा सिटिजन्स, हिमालयन, कुमारी, नेपाल, एनआईसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, एसबीआई, प्राइम कमर्सियल, प्रभु, राष्ट्रिय वाणिज्य, सानिमा र सिद्धार्थ छन् । जेठमा अधिकतम ब्याजदर एनएमबीले ४.८० प्रतिशत तोकेको छ । सो ब्याजदर पनि ५ वर्ष वा सोभन्दा माथिको अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि मात्रै दिने जनाएको छ । व्यक्तिगत मुद्दतीमा अब कुनै पनि बैंकले ४.८ प्रतिशतभन्दा माथि ब्याज दिने छैनन् ।