२०८२ चैत्र २६ गते

२०८३ सालमा डिजिटल मुद्रा सुरुवात गर्ने केन्द्रीय बैंकको तयारी !

बैंकिङ खबर / नेपालमा सरकारका विभिन्न निकाय, केन्द्रीय बैंक र नियामकहरूले वित्तीय कारोबारमा डिजिटल मुद्राको प्रयोग गर्न सकिने वा नसकिनेबारे अध्ययन गरीरहेका छन् । यस्तो अध्ययन सुरु भएको करिव ४ बर्ष वितिसकेको छ । यो बीचमा विश्वका कैयौं देशहरुले डिजिटल मुद्रालाई प्रयोगमा ल्याइसकेका छन् । नेपालले यसबारेमा आफू तयार भएर सीबीडीसी कार्यान्वयनका लागि एउटा निश्चित फ्रेमवर्क तयार पारेर जानुपर्ने हुन्छ । ताकि मुद्रा कारोबारको प्रविधि, ढाँचा र बजारका अभ्यासमा एकरूपता कायम गर्न सकियोस् र त्यसलाई समयानुकूल परिवर्तनसमेत गर्दै लैजान सकियोस् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सय हाराहारी देश विद्युतीय मुद्रा निर्माणको विभिन्न चरणमा रहेको विवरण सार्वजनिक भएको छ । क्यारेबियन टापु बहामस भर्चुअल करेन्सी प्रयोगमा ल्याउने विश्वको पहिलो मुलुक हो । उसले २०२० अक्टोबरमा ‘बहामियन सान्ड डलर’ नामको डिजिटल मुद्रा कारोबारमा ल्याएको थियो । त्यसयता नाइजेरियाले पनि २०२१ अक्टोबरमा ‘इनाइरा’ नामको विद्युतीय मुद्रा सार्वजनिक गरिसकेको छ । आईएमएफका अनुसार सन् २०१८ को जुलाईसम्ममा एउटा मात्रै मुलुकले डिजिटल मुद्राको कारोबार परीक्षण गरिरहेको थियो भने १८ मुलुक त्यसबारे अध्ययन गरिरहेका थिए । यस्तै भारतले २०२२ को डिसेम्बर १ देखि नै रिटेल डिजिटल रुपैयाँ (ई–रुपी) सुरुवात गरेको छ ।

डिजिटल मुद्राको अबस्था के के हुँदैछ

नेपालमा भने नेपाल राष्ट्र बैंकले २०८३ सालको साउनदेखि थोक कारोबारको लागि डिजिटल मुद्रा प्रयोगमा ल्याउने तयारी गरिरहेको स्रोत बताउँछ । राष्ट्र बैंकको चौथो रणनीतिक योजनाअन्तर्गत नमूना परीक्षणको रूपमा यसको सुरूवात गर्न लागेको हो । जसअनुसार २०८३ को असोज÷कात्तिकतिर अन्तरदेशीय कारोबारको लागि पनि डिजिटल मुद्राको प्रयोग गरिने र २०८४ साउनदेखि खुद्रा कारोबारको लागि पनि यसको परीक्षण गर्ने कार्यतालिका राष्ट्र बैंकको रहेको छ।

यही क्रममा बैंकको प्रयोजनको लागि राष्ट्र बैंकले एक अध्ययन समेत गरेको छ। विभिन्न मुलुकमा यस्तो डिजिटल मुद्रा प्रवाहका संरचना, प्रयोगमा रहेका भिन्न शैलीको कारण नेपालले एउटै तरिका अनुशरण गर्नुपर्ने अवस्था नरहेको र भविष्यमा हुने विकासक्रम अनुसार नै नेपालले डिजिटल मुद्रामा जान सकिने उल्लेख गरेको छ। राष्ट्र बैंकले डिजिटल मुद्रा प्रयोगमा ल्याउनुअघि नीति निर्माता, सरकारी निकाय, नियामक, बैंक तथा वित्तीय संस्था लगायतका विविध पक्षसँग सहकार्य गर्न आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ। राष्ट्र बैंकले गरेको अध्ययनअनुसार दक्षिण एसियाली मुलुकहरू भारत र भुटानमा नमूना परीक्षण भइरहेको उल्लेख छ। त्यस्तै, पाकिस्तान र श्रीलंकामा खुद्रा कारोबार सम्बन्धमा अनुसन्धान भइरहेको छ।

अमेरिकाले विश्वको क्रिप्टोको राजधानी बनाउने

अमेरिकाले विश्वको क्रिप्टोको राजधानी बनाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वको क्रिप्टोको राजधानी बनाउने उद्घोष गरेका छन् । यसका लागि उनले नयाँ रणनीतिक रिजर्भ बनाउने योजना बनाएका छन् । यसमा उनले बिट्क्वाइन, इथेरियम, एक्सआरपी, सोलाना र कार्दानो गरी पाँच वटा क्रिप्टोकरेन्सीलाई समावेश गर्ने योजना बनाएका छन् । राष्ट्रपतिको कार्य समूहलाई एक्सआरपी, सोलाना र कार्डानो लगायत समावेश गरेर क्रिप्टो राणनीति भन्डार बनाउनेतर्फ निर्देशन दिन आफूले एउटा आदेशमा हस्ताक्षर गरेको ट्रम्पले बताएका छन् ।

चुनैतीको चौघेरामा क्रिप्टो करेन्सी
विश्व बैंकिङ र वित्तीय बजारले हाल अभूतपूर्व चुनौतीको सामना गरेको छ । परम्परागत बैंकिङ प्रणालीमा हुने जोखिम मात्रै होइन, डिजिटल बैंकिङ र क्रिप्टोकरेन्सी क्षेत्रमा देखिएका घोटालाले पनि विश्व बजारमा ठूलो असर पारेको छ । डिजिटल बैंकिङ र क्रिप्टोकरेन्सीको बढ्दो लोकप्रियतासँगै यसको निगरानी र नियमन पर्याप्त नहुँदा ठूला वित्तीय संकटहरू जन्मिएका छन्। २०२२ मा क्रिप्टो एक्सचेन्ज पतन विश्व बजारमा ठूलो प्रभाव पारेको थियो । स्यान बैंकम्यान–फ्रिडद्वारा सञ्चालित यस एक्सचेन्जले अर्बौं डलर लगानीकर्ताको धन दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको थियो । यसबाट विश्वभरका लगानीकर्तामा विश्वास संकट उत्पन्न भयो । धेरै लगानीकर्ताले आफ्नो पूँजी गुमाए, जबकि केहीले दीर्घकालीन योजना र वित्तीय भविष्यमा ठूलो क्षति भोग्नु प¥यो । यस घटना बैंकिङ संकटसँग तुलना गरिन्छ किनभने यसले पारम्परिक बैंकिङमा हुने अस्थिरता र जोखिमको उजागर मात्र गरेन, डिजिटल वित्तीय प्रणालीको कमजोरी पनि देखायो।

डिजिटल बैंकिङको सुरुवाती अवधिमा यसको उपयोगिता र सहजताको कारणले धेरै देशमा यसलाई प्रवद्र्धन गरियो। मोबाइल बैंकिङ, अनलाइन भुक्तानी, र क्रिप्टोकरेन्सीले आर्थिक पहुँचमा क्रान्ति ल्याएको छ। तर नियमन र सुरक्षा संरचना पर्याप्त नभएको अवस्थामा, यी प्रविधिहरूले ठूला वित्तीय जोखिम पैदा गर्ने सम्भावना देखाउँछन्। क्रिप्टोकरेन्सी क्षेत्रमा जोखिम बढेको मुख्य कारण अस्थिर मूल्य, कम पारदर्शिता, र अपर्याप्त नियमन हो । क्रिप्टो एक्सचेन्ज पतनले देखाएको एउटा मुख्य विषय भनेको “ग्राहकको विश्वास” हो । बैंकिङ प्रणालीको आधार नै ग्राहकको विश्वासमा टेकेको हुन्छ । तर जब संस्थाहरू नाफा मात्रै पछ्याउँछन् र नियामक निकायले समयमै कदम उठाउँदैन, त्यतिबेला ठूला घोटालाहरू जन्मिन्छन् । डिजिटल वित्तीय क्षेत्रमा पनि यही अवस्था देखिन्छ । लगानीकर्ताले सहज रूपमा पहुँच पाउने वित्तीय साधनहरूमा सुरक्षा र पारदर्शिता सुनिश्चित नभए, बजारमा ठूलो अस्थिरता पैदा हुन्छ ।